तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लालाई

जुम्ला । प्रथम कर्णाली प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ । जुम्लामा गत फागुन १६ गतेदेखि जारी प्रदेश स्तरीय फुटबलको शुक्रबार चन्दननाथ रङ्गशालामा भएको फाइनल खेलमा हुम्लालाई गोलको वर्षा गर्दै जुम्लाले उपाधि जितेको हो ।

खेलको निर्धारित समयमा ४ गोल गर्दै जुम्ला उपाधि उचाल्न सफल भएको हो । जसमा खेल अवधिभर जुम्लाका रुविन भण्डारीले ३ गोल गर्दै ह्याट्रिक गरे भने महेन्द्र शाहीले एक गोल गरेका थिए ।

जुम्लाका जर्सी नम्बर ७ का खेलाडी रुविन भण्डारीले ह्याट्रिक गर्दै जुम्लालाई प्रदेशस्तरीय फुटबलको उपाधि दिलाएका हुन । उनले यो प्रतियोगिता अवधिमा ४ गोल गरेका छन् ।

छिमेकी जिल्ला हुम्लाले भने खेल अवधिभर गोल फर्काउन सकेन । हार व्यहोर्दै हुम्ला उपविजेता बनेको छ ।

उपाधि जितेको जुम्लाले प्रदेश स्तरीय फुटबलको कप, मेडल र प्रमाणपत्र पाएको छ ।

प्रतियोगिताका विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेश सभा सदस्य टेकराज पछाई, देवेन्द्र बहादुर शाही, प्रमुख जिल्ला अधिकारीले प्रमाणपत्र, मेडल र टफ्रि हस्तान्तरण गर्नुभयो ।

प्रदेश स्तरीय फुटबलमा कर्णालीका १० जिल्लामध्ये ६ जिल्ला (जुम्लासहित मुगु, हुम्ला, कालिकोट, सुर्खेत र जाजरकोट)को सहभागिता थियो ।

आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेशको टिम छनौट गर्न फुटबलको आयोजना गरिएको थियो ।

आगामी मङ्सिर २ देखि ९ गतेसम्म सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button