संसदमा उठेका विषयमा २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
काठमाडौँ I प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलहरूले उठाएका विषयमा २१ गतेको सभाको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राप्रपा लगायतका प्रतिपक्षी दलहरूले उठाएका र सभामुखले रुलिङ गरेका विषयमा समेत सरकारले जवाफ नदिएको बताएपछि सभामुख घिमिरेले सभाको २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको हो ।
बैठकको सुरुमा विशेष समय लिएर नेकपा एमालेका सांसद सूर्य थापाले सभामुखको रुलिङका बाबजुद प्रधानमन्त्री संसदमा उपस्थित नभएको तथा बालकुमारी घटनादेखी विभिन्न भ्रष्टाचारका घटनामा जोडिएका मन्त्रीहरूलाई कारबाही नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
सांसद थापाले दुग्ध किसान, मिटरब्याजी पीडित, सहकारी पीडित सडकमा आएको भए पनि उनीहरूको समस्या समाधान गर्न सरकार जवाफदेही नभएको आरोप लगाउनुभयो ।
बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले मिटरव्याज पीडित, लघुवित्त पीडितलगायतको समस्या समाधानमा गम्भीरता नदेखाएको बताउँदै सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।
बैठकको शुन्य समयमा सांसदहरूले मिटरव्याज पीडितको समस्या समाधान गर्न सरकार जिम्मेवार बन्नु पर्ने, कृषहरुको दूधको पैसा भुक्तानी, उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा जोड दिनुपर्ने, भौतिक पूर्वाधार निर्माणका काममा सरकार जिम्मेवार बन्नु पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्