तपाईँ सुन्दै हुनुहुन्छः

सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड 

काठमाडौँ । सांसदहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागको कामलाई प्रभावकारी बनाइनु पर्नेमा जोड दिनुभएको छ । 

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले राजस्व सङ्कलन र त्यसको अनुसन्धानलाई प्रभावकारी बनाउन राजस्व कार्यालयहरूलाई प्रविधिमैत्री बनाइनु पर्नेमा जोड दिनुभयो । 

सांसदहरूले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागले प्रभावकारी रूपमा काम गर्न कठिन भइरहेको विषयहरू पहिचान गर्न तथा विद्यमान ऐनको कार्यान्वयन वा ऐन रहेका विषय मध्ये कुनले काममा बाध पुर्‍याएको हो स्पष्ट रूपमा समितिमा ल्याउन आग्रह गर्नुभयो ।

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्र र व्यापारीहरूलाई र मित्रवत् व्यवहार गरेर अगाडी बढ्नु पर्ने, उनीहरूका समस्या संस्थागत रूपमा सुनेर उचित समाधान गर्नुपर्ने, कानुनी र कार्यान्वयनको सुधार सन्तुलित रूपमा अघि बढाउनुपर्नेमा समेत सांसदहरूले जोड दिनुभयो । 

छलफलमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागका महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष लगायत विभिन्न निजी उद्योगी व्यवसायीहरूको सङ्घ सङ्गठनका अध्यक्ष र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button