तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनले दुई दिनदेखि काम ठप्प

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका कर्मचारीको आन्दोलनका कारण आज दोस्रो दिन पनि कार्यालयको कामकाज ठप्प भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सराफत हुसेन शेषलाई कारबाहीको माग गर्दै उपमहानगरपालिकाका कर्मचारीहरू बुधबारदेखि पेन डाउन गरेर आन्दोलित भएका छन् । वडाध्यक्ष शेषलाई कारबाही र शान्ति सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

मङ्गलवार दिउँसो वडाध्यक्ष शेषले कार्यालयमा प्रवेश गरी प्रमुख प्रशासकीय अधिकृत र अन्य कर्मचारीलाई अभद्र व्यवहार र मानमार्दन हुने गरी अपशब्द प्रयोग गरेको र झुटा लाञ्छना लगाएको भन्दै उपमहानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेका हुन् ।

वडा अध्यक्ष शेषमाथि कडा भन्दा कडा कारबाहीका लागि कानुनी प्रक्रिया अगाडि नबढ्दासम्म कर्मचारीहरूले अत्यावश्यक बाहेक सबै सेवा ठप्प पार्ने बताएका छन् । जनप्रतिनिधि एवम् कर्मचारीलाई झुटो लाञ्छना लगाउने, मानमर्दन हुने गरी अवाञ्छित क्रियाकलाप गर्ने जस्ता कार्य अति नै निन्दनीय भएको भन्दै कर्मचारीहरूले कडा कारबाहीको माग गरेका छन् । यस्ता क्रियाकलापले कर्मचारीलाई काम गर्ने वातावरण नहुने भन्दै उनीहरूले प्रचलित कानुन बमोजिम कारबाही हुनुपर्ने माग गरेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button