तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तुकाे जोखिम मोल्दै विद्यालय जान्छन् निकुञ्ज आसपासका बालबालिका 

बाँके । पछिल्लो समय बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र रहेका विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

साझ र बिहानको समयमा मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयमा अध्ययनका लागि जाँदा वन्यजन्तुको जोखिम बढ्न थालेको हुँदा बालबालिकाको कलिलो मस्तिष्कमा डर पैदा भएको कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयामा अवस्थित बाल शिक्षा माबिका प्रअ टर्क खत्री बताउनु हुन्छ।

उहाँले निकुञ्ज र सम्बन्धित सरोकारवाला निकायहरूलाई तारवार नभएका खुल्ला स्कुलहरूमा तारबार गरी स्कुललाई अनि त्यहाँ अध्ययनरत बालबालिकाहरूलाई सुरक्षित राख्नु सबैको दायित्व भएको हुँदा त्यसतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताउनु भयो।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र प्राथमिक तहदेखि माध्यमिक तह गरी १८ वटा विद्यालय रहेका छन् ।

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको सङ्ख्या बढेसँगै मध्यवर्ती क्षेत्र भित्र वन्यजन्तुको जोखिम हुनु स्वभाविक हो तरपनि वन्यजन्तुका आनीबानी र आफु कसरी सुरक्षित हुनुपर्छ भन्नेबारेमा सचेत हुनुपर्ने बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गहेन्द्र खड्का बताउनु हुन्छ।

निकुञ्जको मध्यवर्ती क्षेत्र आसपासमा रहेका विद्यालयका विद्यार्थी र स्थानीयहरूलाई जोखिमपूर्ण अवस्थाबाट सुरक्षित राख्नको लागि पछिल्लो समय सरोकारवाला निकायले विभिन्न कार्यक्रम गर्दै आएको पाइएको छ।

विशेष गरि विद्यार्थीहरू एक्लै हिँड्न भन्दा समूह बनाएर सँगसँगै हिँडेमा सम्भावित जोखिमबाट बच्न सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण सहायक उमेश पौडेल बताउनु हुन्छ। उहाँले बालबालिकालाई वन संरक्षण अनि त्यसबाट हुने जोखिमबारे अभिभावक अनि शिक्षकले सिकाउन पर्ने र जथाभाबी वनजङ्गल नजाने यदि जानै परे समूहमा जाने सुझाव दिनु भएको छ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका विद्यालयका विद्यार्थीहरूको सुरक्षाका लागि स्थानीय सरकार र निकुञ्जले पहिलो प्राथमिकतामा राखेर तारबार नगरेका विद्यालयमा तारबार गरेर जीवन सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउनु आवश्यक देखिन्छ।

यस्तै वन्यजन्तुबाट हुने सम्भावित आक्रमणबाट बच्न विद्यार्थी लगायत अन्य सर्वसाधारणलाई समूहमा हिँड्न सुझाव दिए पनि यस्को दीर्घकालीन समाधानको रुपमा सरोकारवालाहरू तत्कालै लाग्नु पर्ने देखिन्छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button