तपाईँ सुन्दै हुनुहुन्छः

‘मिटरव्याज तथा लघुवित्त पीडितहरूको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको छ’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मिटरव्याज तथा लघुवित्त पीडितहरूको समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री शर्माले सरकारले सम्बन्धित ठाउँबाटै पीडितहरूको समस्या समाधानका लागि विगतमा केही काम गरेको र थप कामहरू भइरहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकार यस विषयमा संवेदनशील रहेकाले राजधानीमा आएर दुःख नपाउन तथा अलपत्र नपर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा सञ्चारमन्त्री शर्माले सरकारले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ अयोगको म्याद भोलिदेखि लागु हुने गरी यही फागुन मसान्तसम्म थप गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै मन्त्रीपरिषद् बैठकले प्रति जैविक प्रतिरोध/एन्टीमाइक्रोबियल रेजिस्टेनस ए.एम.आर. कार्ययोजना स्वीकृत गर्ने, नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिसकुमार देवलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्री शर्माले बताउनुभयो ।

मन्त्री शर्माले बालकुमारी घटना जाँचबुझ आयोग २०८० ले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि फागुन २० गतेभित्र सुझाव पेश गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई जिम्मेवारी दिने निर्णय भएको जानकारी दिनुभयो ।

यस्तै सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने विषयको प्रदर्शनका क्रममा मृत्यु भएका सर्लाहीका जयशंकर साहको परिवारलाई आर्थिक सहायता स्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको पनि मन्त्री शर्माले बताउनुभयो ।

निर्णयहरुः

प्रतिक्रिया राख्नुहोस्

Back to top button