तपाईँ सुन्दै हुनुहुन्छः

निजगढ विस्फोट : मृतकको सङ्ख्या ३ पुग्यो

वीरगञ्ज । बाराको निजगढस्थित सहिद चोकमा रहेको रोहित वर्कसपमा विस्फोट हुँदा गम्भीर घाइते थप २ जनाको वीरगन्जमा उपचारको क्रममा आज मृत्यु भएसँगै मृतकको सङ्ख्या ३ पुगेको छ । निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा सोमबार शङ्कास्पद बस्तु विस्फोट भएको थियो ।

विस्फोटमा गम्भीर घाइते भएकामध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय रितु रजत र भारतको मोतिहारी जिल्ला ढाका थाना गवाई गाउँ बस्ने ३५ वर्षीय राकेश जयसवालको आज उपचारको क्रममा बीरगंज स्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा रोहित वर्कसप लेथका सञ्चालक ४५ वर्षीय रेशम मगरको सोही अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताउनुभयो । यसैगरी सो विस्फोटमा गम्भीर घाइते भारतको रामगढवा बस्ने २० वर्षीय अरविन साहको नेपाल मेडिसिटी बयोधा अस्पतालको आईसियू कक्षमा उपचार भइरहेको छ भने वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ बस्ने ३४ वर्षीय फिरोज देवान र निजगढ नगरपालिका–५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापाको निजगढ स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ ।

आइसियुमा उपचाररत साहको अवस्था गम्भीर रहेको छ भने देवान र थापाको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने बताउनुभयो ।

यसैबिच अनुसन्धानका क्रममा कवाडी खरिद गर्ने भारत मोतिहारी जिल्ला बस्ने अन्दाजी ४० वर्षीय राज भनिने रमेश जैसवाल र कवाडी बिक्री गर्ने निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय टिकाराम पाख्रिनलाई प्रहरीले पक्राउ गरी घटनाका बारेमा थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button