प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता भोलिदेखि

जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकामा भोलिदेखि प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा शुरु हुन लागेको प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगितामा कूल ८ वटा राष्ट्रिय स्तरको टिमको सहभागिता रहने क्षिरेश्वर नगरपालिकाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतियोगितामा कर्णाली बाहेक ६ प्रदेश, नेपाल सेना तथा आयोजक संस्था मदन भण्डारी स्पोर्टस् एकेडेमीका गरेर ८ टिमका १ सय ४४ जना महिला हक्की खेलाडीको सहभागिता रहने मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।
फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि दिउँसो उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।

खेलकुदमार्फत देशको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बढाउनका आयोजना हुन लागेको प्रथम महिला हक्की प्रतियोगिता क्षिरेश्वरनाथ माध्यमिक विद्यालयको खेल मैदानमा हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार र कप, द्वितीय हुनेलाई कपसहित १ लाख र तृतीय हुने टिमलाई कपसहित ५० हजार नगद प्रदान गर्ने कार्यक्रम रहेको एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले जानकारी दिनुभयो ।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई १० हजार र उमेन अफ दी म्याच हुनेलाई ५ हजार नगद प्रदान गरिने र प्रतियोगितामा ५६ लाख १३ हजार खर्च हुने अनुमान रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्