एनआरटी बन्यो स्व. दिलीप राणा स्मृति चितवन भेट्रान कप च्याम्पियन
चितवन । स्व. दिलीप राणा स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबलको उपाधि एनआरटी एफसी भेट्रानले जितेको छ ।

आज (शनिबार) सम्पन्न उपाधि भिडन्तमा चाबहिल भेट्रानलाई हराउँदै एनआरटी च्याम्पियन बनेको हो । प्रतिस्पर्धात्मक खेलमा एनआरटी १–० ले विजयी भयो ।
एनआरटीको जितमा नरेश श्रेष्ठले निर्णायक गोल गरे । उक्त गोल नै एनआरटीलाई च्याम्पियन बनाउन पर्याप्त भयो । खेलको अन्त्य तिर चाबहिल भेट्रानले बराबरी गर्ने सुन्दर अवसर पाए पनि बार बाधक भयो । एनआरटीका नरेश म्यान अफ दि म्याच भए ।
विजेता एनआरटीले ट्रफीसहित एक लाख ५० हजार प्राप्त गरेको छ । उपविजेतामा सीमित चाबहिलले ट्रफीसहित ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।
उपविजेता चाबहिलका पासाङ शेर्पा प्रतियोगिताभरको उत्कृष्ट खेलाडी चुनिए । उनले दश हजार रुपैयाँ प्राप्त गरे । च्याम्पियन टोली एनआरटीका सुन्दर थापा प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए । एनआरटीकै राजनलाल नेपाली उत्कृष्ट डिफेन्डर भए ।
फाइनलमा गोल गर्दै एनआरटीलाई च्याम्पियन बनाएका एनआरटीका उत्कृष्ट मिडफिल्डर घोषित भए । चाबहिलका कप्तान पासाङ शेर्पा सर्वाधिक गोलकर्ता भए । यस्तै एनआरटीकै आशिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूले जनही पाँच–पाँच हजार रुपैयाँ प्राप्त गरे ।
चितवन भेट्रान फुटबल क्लबको आयोजनामा सम्पन्न प्रतियोगितामा देशभरका १८ टोली सहभागी थिए ।








प्रतिक्रिया राख्नुहोस्