झोर– मनगाँउतिर हिमपातको खुशी

दोलखा । विहिवार दिनभरीनै हिमपात भएपछि दोलखा शैलुङ गाँउपालिका वडा नम्बर– ८ मनगाँउका किसान श्याम श्रेष्ठ खुशी भएका छन् ।
“आलु उम्रने बेला भएको थियो”, मनगाँउका श्याम श्रेष्ठले भन्नुभयो– “हिमपातले जमिन चिसो बनाईदिएकोले अब बोट राम्रो हुन्छ ।”
आलु रोपेको निक्कै समयसम्म पनि हिमपात र पानी नभएपछि शैलुङको झोर, मनगाँउ, कालापानी, खोलाखर्क, भित्ते, ढाँडे, ढुङ्गे, चैचाप र मेलुङ गाँउपालिकाको घ्याङ र डाँडाखर्कका आलु खेती गर्दै आएका किसानहरु चिन्तित भएका थिए ।

“माघमा थोरै हिमपात भएपनि आलु रोपेपछि हिमपात र पानी नभएकोले आलु उत्पादन घट्छ की भन्ने चिन्ता भएको थियो तर विहिवार राम्रैसँग हिमपात भएकोले अब उत्पादन बढ्नेमा ढुक्क छौँ”, श्याम श्रेष्ठले भन्नुभयो ।
लगभग १२ रोपनी जमिनमा आलु खेती गर्नुभएको श्याम श्रेष्ठले गत बर्ष झण्डै पाँचलाखको आलु बिक्रि गर्नु भएको थियो । यो बर्ष आलु उम्रने बेलामा राम्रोसँग हिमपात भएकोले उत्पादन अझ बढ्ने आशा पलाएको उहाँले बताउनुभयो ।
शैलुङकै सुवास श्रेष्ठ पनि समयमै हिमपात नभएकोले आलु उत्पादन घट्ने हो कि भन्ने चिन्तामा हुनुहुन्थ्यो । विहिवार दिनभरी हिमपात भएपछि आलु उत्पादन बढ्ने कुरामा आशावादी बनाएको सुवासले बताउनुभयो । “अझ एक पटक हिमपात र केही दिन पानी परिदिए यो क्षेत्रमा आलु उत्पादन राम्रो हुने थियो”, सुवासले भन्नुभयो । झण्डै ३५ रोपनी जमिनमा आलुखेती गर्दै आउनुभएको सुवासले गत बर्ष सात लाखभन्दा बढीको आलु बिक्रि गर्नुभएको थियो ।
दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ को झोर, मनगाँउ, भित्ते, ढाँडे, कालापानी, वडा नम्बर– ६ को ढुङ्गे, चैचाप र मेलुङ गाँउपालिकाको वडा नम्बर– ३ घ्याङ र वडा नम्बर– ५ डाँडाखर्कका किसानहरुले बर्षमा ४० करोडभन्दा बढीको आलु बिक्री गर्दै आएका छन् ।

शैलुङ र मेलुङ गाँउपालिकाले आलु उत्पादनमा बृद्धि गर्ने उदेश्यले पकेट क्षेत्र तोकेर बिभिन्न सहयोग समेत गर्दै आएको छ ।
मेलुङ गाँउपालिकाले दुई वटा वडामा आलु प्रर्वद्धन कार्यक्रम सुरु गरेको गाँउपालिकाका प्रमुख हिरा कुमार थोकरले बताउनुभयो ।
शैलुङ क्षेत्रमा पुषबाटै हिमपात हुने हो भने आलुउत्पादन निक्कै बढ्ने स्थानीय किसानहरुको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्