जुम्लाका १० हजार बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

जुम्ला । जुम्लाका १० हजारभन्दा बढी बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ ।
आगामी फागुन १३ गतेबाट जुम्लाका आठै स्थानीय तहका १० हजार सात जना बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको हो ।
जिल्लाका १५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई आठ स्थानीय तहमा दुई चरणमा खोप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा–रुबेला खोपमुक्त नेपाल घोषणा गर्ने लक्ष्यअनुसार खोप अभियान सञ्चालन हुन लागेको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुने छन् । भने आठ पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप उमेर समूहका कुनै पनि बालबालिका नछुटुन् भन्नका लागि तयारीलाई मजबुद बनाइएको छ ।”
जन्मेदेखि १५ महिना अवधिभर लगाउने पर्ने विभिन्न खोप नलगाएपछि दादुरा–रुबेला रोग संक्रमण हुने भएकोले दादुराको खोप अनिवार्य लगाउनुपर्नेमा प्रमुख सापकोटाले जोड दिनुभयो ।
जुम्लाका आठ पालिका मध्ये पहिलो चरणमा चन्दननाथ नगरपालिका, गुठिचौर, पातारासी र तातोपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म र दोस्रो चरणमा तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ गतेदेखि फागुन अन्तिमसम्म खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिनुभयो ।
सरकारी तथ्याङ्क अनुसार खोप उमेर समूहका १६ प्रतिशत बालबालिका अझै नियमित खोपबाट वञ्चित रहेका छन् ।
यहाँ हरेक ४–५ वर्षको बीचमा दादुरा रुबेलाको प्रकोप फैलिने गरेको छ । नियमित खोपबाट वञ्चित बालबालिका दादुरा–रुबेलाको बढी जोखिममा हुने गरेका छन् । साथै खोप अभियान अन्तर्गत नियमित खोप पाउनबाट छुटेका बालबालिकाको पहिचान गरेर खोप समेत लगाइने भएको छ । बच्चा नजन्मिँदै भारत जाने, जिल्ला बाहिर जाने, खोप लगाउन डराउने जस्ता समस्याले नियमित खोपबाट प्रायः बालबालिका छुट्ने गरेका छन् ।
नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा–रुबेला निवारण गर्ने लक्ष्य लिए पनि सफल हुन सकेन । पुनः नेपाललाई सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने घोषणाका लागि फागुन १३ गतेदेखि देशभर खोप अभियान थालिएको छ ।
जिल्लामा बुधबार आयोजित जिल्ला स्तरीय खोप समन्वय समिति तथा सञ्चारकर्मीको अभिमुखीकरणले खोप अभियानलाई सफल बनाउनु पर्नेमा जोड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले लक्ष्यअनुसारका बालबालिकालाई खोपको पहुँचमा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रोग लाग्न दिनुभन्दा नलाग्न दिनु नै उत्तम हुन्छ । खोप उमेर समूहका कोही बालबालिका नछुट्ने गरी खोप अभियानलाई प्रभावकारी बनाउन जरुरी छ ।”
बढीभन्दा बढी बालबालिकालाई खोपको पहुँचमा पुराउन प्रचारप्रसारलाई व्यापक बनाउनुपर्नेमा अभिमुखीकरणमा सहभागीहरूले जोड दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्