तपाईँ सुन्दै हुनुहुन्छः

कार्यसम्पादन मूल्याङ्कनमा मुगुम कार्मारोङ्ग उत्कृष्ट

मुगु । कार्य सम्पादन मूल्याङ्कनमा मुगुका चार स्थानीय तह मध्य मुगुम कार्मारोङ्ग उत्कृष्ट पालिका भएको छ । 

प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा मुगुम कार्मारोङ्ग गाउँपालिका जिल्लाका अन्य ३ पालिका भन्दा उत्कृष्ट  भएको हो  ।

आगामी आव २०८१/०८२ मा सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानिकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा  मूल्याङ्कन गर्ने गर्दछ ।

आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङ्कन गरि जिल्लागत प्रदेशगत र देशभर उत्कृष्ट पालिकाहरू घोषणा गर्दै आएको छ ।

यस्तै असार १० भित्र बजेट ल्याए/नल्याएको, असार ३०  भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरुपमा दिए/नदिएको लगायत आधारहरू पनि आयोगले मूल्याङ्कन गर्छ  ।

आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा संघ, प्रदेश र स्थानीय तहहरूको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरुपमा समानीकरण अनुदान दिन आधारहरू तयार गरेर मूल्याङ्कन गर्ने गर्छ ।

आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्दछ ।

जिल्लाका चार स्थानीय तह मध्यमा मुगुम कार्मारोङ्ग  पहिलो भएको छ । मुगुम कार्मारोङ्गले ३३ दशमलव २७ प्रतिशत अङ्क पाउँदा छायानाथ रारा नगरपालिकाले २४ दशमलव ४५ प्रतिशत, सोरु गाउँपालिकाले १९  दशमलव २२  प्रतिशत र खत्याड गाउँपालिकाले १८  दशमलव ९०  प्रतिशत अङ्क पाएको वित्त आयोगले जनाएको छ  ।

मुगुम कार्मारोङ्ग गाउँपालिका जिल्ला अन्य स्थानीय तह भन्दा विकट र सडक सञ्जालमा नजोडिएको पालिकाको रुपमा चिनिन्छ । 

पालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाको नेतृत्व दोर्सो कार्यकाल हो । 

यहाँ कार्यरत कर्मचारीहरूलाई कुनै राजनैतिक दबाब छैन नियम,कानुनको अधिनमा रही गाउँ कार्यपालिका र गाउँ सभाले अबलम्बन गरेका नीति,कार्यक्रम तथा योजना कार्यान्वयन स्वतन्त्र पूर्वक गर्न पाउने गरेको आफूले देखेको र भोगेको सूचना तथा प्राविधिक अधिकृत सोवेन्द्र बहादुर मल्लले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button