सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकमा विकास निर्माणका कामहरू समयमा सम्पन्न गर्न नसकेको, मुलुक आर्थिक समृद्धितर्फ अगाडी बढ्न नसकेको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
सांसदहरुले मिटर व्याजी पीडितले राहत पाउन नसकेको, सहकारी पीडितहरू घरबार विहीन हुने अवस्थामा पुगेको भन्दै समयमै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले अवैध रुपमा नेपालीहरू बिदेसिइरहेको, रुसमा ज्यान गुमाएका हरुको अवस्थाबारे सरकार बेखबर रहेको र विदेशमा दुख पाइरहेका नेपालीहरूको उद्धारका लागि पहल गर्न नसकेको बताउनुभयो ।
सांसदहरुले भूमिहीनहरूको समस्या समयमै समाधान गर्ने गरी ऐन ल्याउन आवश्यक रहेको, कृषि क्षेत्रको विकासका लागि छुट्टाइएको बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य क्षेत्रलाई व्यापार बनाइनु नहुने, स्वास्थ्यमा सबैको समान पहुँच हुनुपर्नेमा जोड दिनुभयो ।
बालकुमारी घटनाका दोषी देखिएकालाई कारबाही हुन नसकेको, भ्रष्ट्राचारका मुद्दाहरू निष्कर्षमा पुर्याउन नसकिरहेको लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
यस्तै, प्रतिनिधिसभाको आजको बैठकमा गणपुरक सङ्ख्या नपुगेका कारण राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८० प्रस्तुत हुन सकेन ।
विधेयक निर्णयार्थ प्रस्तुत हुन आवश्यक पर्ने गणपुरक सङ्ख्या नपुगेको प्रमुख प्रतिपक्षी दलका सचेतक महेश वर्तौलाले विषय उठाएपछि ३ मिनेट घण्टी बजाएर गणना गर्दा गणपुरक सङ्ख्या नपुगेको सभामुख देवराज घिमिरेले जानकारी गराउनु भयो ।
गणपुरक सङ्ख्या पुग्न ६९ जना सांसद उपस्थित हुनुपर्नेमा विधेयक प्रस्तुत गर्ने समयमा ६५ जना सांसदको मात्रै उपस्थिति रहेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक भोली बिहान ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्