सुर्यनगर गोल्डकपको उपाधि बागमती क्लबलाई

नवलपरासी ,पश्चिम्।नेपाल पुलिस क्लबलाई सुन्यका विरुद्ध एक गोल गर्दै लुम्बिनी प्रदेशकै दोस्रो ठूलो पुरस्कार राशिको आठौँ सूर्यनगर गोल्डकपको उपाधि बागमती क्लब सर्लाहीले चुमेको छ ।
सोमबार सम्पन्न फाइनल खेलमा गतवर्षको विजेता पुलिसलाई स्तब्ध पार्दै बागमतीले उपाधि चुमेको हो । पहिलो हाफको २५ औँ मिनेटमा बागमतीका जर्सी नम्बर ८ का अभि लामाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । निकै प्रतिस्पर्धात्मक खेलमा पुलिसले पनि गोल गर्ने सुनौला मौका गुमाएको थियो ।
फाइनल खेलमा एकमात्र गोल गरेका लामा दोस्रो हाफको ३२ औँ मिनेटमा रातो कार्ड पाउँदै खेलबाट बाहिरिए पछि बागमती १० खेलाडीमा सीमित हुन पुगेको थियो ।
विजेता टोलीले नगद ५ लाख सहित ट्फि र मेडल प्राप्त गर्न सफल रह्यो भने उपविजेता पुलिस क्लब ३ लाख र उपविजेता ट्फिमा चित्त बुझायो । लुम्बिनी प्रदेशमै दोस्रो सर्वाधिक राशिको प्रतियोगिता गत माघ २९ गतेबाट सञ्चालन भएको थियो ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै नगरले सबै बिद्याका खेललाई प्रोत्साहन गर्ने उल्लेख गर्नु भयो। उहाँले दक्ष खेलाडी उत्पादन गर्न सके नगरको नाम समेत उँचो रहने बताउनु भयो ।
बर्दघाट नगरपालिकाका संस्थापक नगरप्रमुख धिरज शर्मा बस्यालले दक्ष खेलाडी उत्पादनका लागि एकेडेमी सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो ।बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भिमकाजी गुरुङले सुर्यनगर रङ्गशालालाई नगरले थप सहयोग उपलब्ध गराउँदै लैजानु पर्ने बताउनु भयो ।
प्रतियोगितामा नवलपरासीका २ टिम सहित राष्ट्रिय प्रतियोगिता खेलेका ८ टोलीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्