तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश

वीरगञ्ज । रौतहटको घटनालाई लिएर आज दिउँसोदेखि वीरगञ्जको बजार क्षेत्र तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालय पर्साले आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश घोषणा गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा अपराह्न जारी कर्फ्यु आदेशमा फागुन ३ गते बिहीबार रौतहटको इशनाथ नगरपालिकाको मोतीपुरमा २ पक्षबिच विवाद र झडप भएको विषयलाई लिएर आज दिउँसो वीरगञ्जमा भएको विरोध जुलुसको क्रममा विवाद र झडपको स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुनसक्ने स्थिति देखिएकाले वीरगञ्ज महानगरपालिकाको क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरिएको कुरा उल्लेख गरिएको छ ।

कफर्यु आदेश जारी भएको क्षेत्रभित्र कसैले आवत जावत, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न एवं कुनै उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी आज साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को क बमोजिम कफर्यु आदेश जारी गरिएको छ । उक्त आदेशको बर्खिलाप भएमा कानुन बमोजिम कडा कारबाही हुने ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

कर्फ्यु आदेश वीरगञ्ज महानगरपालिकाको पूर्वमा नगवा चोक बारा जिल्लाको सिमानासम्म, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल भन्सार क्षेत्र सम्मको एरियाभित्र कर्फ्यु आदेश जारी भएको सूचनामा उल्लेख गरिएको छ ।

यसैबिच आज दिउँसो वीरगञ्जमा हिन्दुसम्बद्ध युवाहरूले तरबार सहितको जुलुस निकालेपछि छपकैयाबाट मुस्लिम सम्बद्ध युवाहरूले समेत लाठी, रड बोकेर जुलुस निकाले लगतै वीरगञ्जको बजार क्षेत्र तनावपूर्ण बनेको थियो । वीरगञ्जको मुल सडक लगायत बाइपास, रेल्वे रोडको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको थियो ।

हिन्दु, मुस्लिम समुदायबिच रहेको आपसी सदभावलाई भड्काउन केही व्यक्तिहरूले विगतदेखि नै चलखेल गरिरहेको र यो समयमा आपसी सद्भावलाई कायम राखी कसैको बहकाउमा नलाग्न बुद्धिजीवीहरूले सुझाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button