तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन दिवसकाे अवसरमा प्रमुख निर्वाचन आयुक्तको सन्देश (पूर्णपाठ)

निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गरौँः प्रमुख आयुक्त थपलिया

काठमाडौँ । ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने मूलनाराका साथ आठौँ निर्वाचन दिवस मनाइको छ ।

विसं २०१५ फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई बालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै निर्वाचन आयोगले आज दिवस मनाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दिवसका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मतदातालाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । आम मतदातामा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापमा सरिक हुन दिवसले सदैव जागरूकता र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनलाई जीवन पद्धतिका रुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचन ः शान्ति, स्थिरता, समृद्धि र सुशासन’को मूलमन्त्रलाई आत्मसात् गर्दै आयोगले स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूतिसहित निर्वाचन व्यवस्थापन गर्दै आएको छ ।

वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवं राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार चार सय जनप्रतिनिधि निर्वाचित भएका आयोगले जनाएको छ ।

आवधिक निर्वाचनद्वारा बालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक सङ्घीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ ।

निर्वाचनका माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता छ । वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो रहेको उहाँको भनाइ छ ।

राजनीतिक दल, आम मतदाता तथा सरोकारवालासँग यस विषयमा निरन्तर संवाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग संवेदनशील रहेको आयोगको भनाइ छ ।

विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचन ‘स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएको आयोगको दाबी छ । आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचनसम्बन्धी नीतिगत तथा कानुनी सुधारको पहल, निर्वाचनका क्रियाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार भइरहेको आयोगले उल्लेख गरेको छ ।

निर्वाचन व्यवस्थापन एवं नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचनमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि हुन् ।

निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनीहित चुनौतीका साथै सुधारका मार्ग पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकारसमक्ष पेस गरिसकिएको आयोगको भनाइ छ ।

निर्वाचनका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरी भएकाले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणका लागि स्थानीय तहबाटै मतदाता नामावली सङ्कलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधिसमेत अगाडि बढाइएको छ ।

निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयङ्गम गर्दै स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर भएको छ ।

संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवम् समावेशीभित्रको समावेशीता र लैङ्गिक सवालको सम्बोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील छ । राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्नेमा आयोगले जोड दिँदै आएको छ ।

यसैबीच, आयोगले निर्वाचन दिवसका अवसरमा वर्षेभरमा उत्कृष्ट कार्य सम्पादन गर्ने १२ जना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा आयोगका पाँच र मातहतका प्रदेश र जिल्लाका सात जना कर्मचारी हुनुहुन्छ ।

आज आयोजित कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा जानकी तुलाधर र सगुन शम्सेर राणाले आयोगद्वारा प्रकाशित वार्षिक स्मारिक लोकार्पण गर्नुभयो । उक्त स्मारिकामा निर्वाचनसँग जोडिएका १२ वटा लेख समावेश छ । सो अवसरमा आयुक्त डा तुलाधरले पछिल्लो समय निर्वाचनका माध्यमबाट मुलुक समावेशीकरणतर्फ उन्मुख भइरहेको बताउनुभयो ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारी, राजनीतिक र निर्वाचनमा संलग्न राष्ट्रसेवक कर्मचारीका निष्ठा र दृढताका कारण निर्वाचन स्वच्छ, स्वतन्त्र र मितव्ययी निर्वाचन बन्दै गएको बताउनुभयो ।

सन्देशको पूर्णपाठ :

निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गरौं

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आज मिति २०८० साल फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस र आठौं निर्वाचन दिवसको दिन हो। वि.सं. २०१५ साल फागुन ७ गते नेपालमा आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीहरूले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनको स्मरण गर्दै आज हामी “निर्वाचनको सफलता, निर्वाचन शिक्षाको ब्यापकता” भन्ने मूलनाराका साथ आठौं निर्वाचन दिवस उल्लासमय वातावरणमा मनाउन गई रहेका छौं। यस गौरवमय अवसरमा म आयोगलाई अगाडि बढ्न निरन्तर सहयोग, योगदान र प्रेरणा प्रदान गर्नुहुने अग्रजहरूको सम्मान एवम् प्रशंसा गर्दै देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मतदाताहरूलाई हार्दिक शुभकामना दिन चाहन्छु। निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह गर्दछु।

ुस्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी निर्वाचनः शान्ति, स्थिरता, समृद्धि र सुशासन’ भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै निर्वाचन आयोगले आफ्नो स्थापनाकालदेखि नै निष्पक्षता, स्वतन्त्रता, व्यावसायिकता र विश्वसनीयताको प्रत्याभूति सहित निर्वाचन व्यवस्थापनको दायित्व निर्वाह गर्दै आएको छ। वर्तमान संविधान जारी भएपछि सम्पन्न दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन्। आवधिक निर्वाचनद्वारा वालिग मताधिकारको प्रयोग, निर्वाचन प्रणालीको क्रियाशीलता तथा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक संघीय शासन प्रणालीको सुदृढीकरणमा उल्लेख्य भूमिका निर्वाह भएको छ । यसरी निर्वाचनको माध्यमबाट नेपाली मतदाताले गोप्य मतदानद्वारा आफूले रोजेका प्रतिनिधिमार्फत शासन सञ्चालन गर्न पाउने नागरिक अधिकारको वैधता र सुनिश्चितता प्राप्त भएकोमा खुशी व्यक्त गर्दै निर्वाचन दिवसको अवसरमा म निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरू एवम् निर्वाचनमा सहभागी सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु।

वर्तमान निर्वाचन प्रणालीलाई मितव्ययी र कम खर्चिलो बनाउन, बढ्दै गएको निर्वाचन तथा प्रचारप्रसार खर्चलाई नैतिकता र इमान्दारिताको अभ्यास, स्वःनियन्त्रण पद्धतिको अनुशरण र सामाजिक सचेतनाको प्रयासबाट निस्तेज गर्ने विषयमा साझा संकल्प र इमान्दार प्रयत्नको खाँचो छ। यस विषयमा राजनीतिक दल, आम मतदाता तथा सरोकारवालाहरूसँग निरन्तर सम्वाद र अन्तरक्रिया गरी उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण र अनुगमन संयन्त्रलाई प्रभावकारी बनाउने विषयमा आयोग सम्वेदनशील छ।

आयोगले एसियाली क्षेत्र लगायत विश्वका विभिन्न ४० देशका २५० प्रतिनिधिको सहभागिता रहेको ूदिगो लोकतन्त्रको निर्माणस् निर्वाचनका चुनौती र अवसरहरूको सम्वोधनू विषयक एसियाली निर्वाचन सरोकारवाला मञ्चको छैठौ अन्तर्राष्ट्रिय सम्मेलन यही मंसिर २० र २१ गते सम्पन्न गरी २७ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। यस अवधिमा विभिन्न देशमा सम्पन्न भएका निर्वाचनको पर्यवेक्षणमा सहभागी हुनुका साथै निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएको छ। यसबाट अन्तर्राष्ट्रिय जगतमा आयोगको भूमिका, शाख र प्रतिष्ठा अभिवृद्धि हुँदै गएको महसुस भएको छ।
विगतका निर्वाचनको तुलनामा पछिल्ला निर्वाचनहरू “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवम् मितव्ययी’ हुँदै आएका छन्। आयोगको संस्थागत सुदृढीकरण, प्रविधियुक्त निर्वाचन व्यवस्थापन, निर्वाचन सम्बन्धी नीतिगत तथा कानूनी सुधारको पहल, निर्वाचनका कृयाकलापमा नागरिकको पहुँच अभिवृद्धि, राजनीतिक दलको दर्ता र नियमनमा सुधार, निर्वाचन व्यवस्थापन एवम् नागरिक शिक्षामा समन्वय र सहकार्य तथा निर्वाचन मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन यस अवधिका देखिने र अनुभूत गर्न सकिने उपलब्धि हुन्। निर्वाचन व्यवस्थापनमा अवलम्बन गरिएका अभ्यास, विधि, पद्धति र संयन्त्रबाट निर्वाचन प्रणालीका अन्तरनिहित चुनौतीहरूका साथै सुधारका मार्गहरू पहिचान गरी निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा नेपाल सरकार समक्ष पेश गरिसकिएको छ। निर्वाचनका लागि सार्वभौमसत्ता सम्पन्न मतदाता नै सर्वोपरी भएकोले मतदाता नामावलीको शुद्धता र दर्ता सहजीकरणकालागि स्थानीय तहबाटै मतदाता नामावली संकलन गर्ने र विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्ने कार्यविधि समेत अगाडि बढाइएको छ। निर्वाचनको सफलता निर्वाचन शिक्षाको व्यापकताले निर्धारण गर्दछ भन्ने कुरालाई हृदयङ्गम गर्दै स्थानीय तहसँगको सहकार्यमा मतदाताको घर दैलोसम्म नै निर्वाचन तथा मतदाता शिक्षालाई सघन र प्रभावकारी बनाउन आयोग अग्रसर भएको छ।

संविधानमा उल्लेख भएको समानुपातिक समावेशी सिद्धान्तको कार्यान्वयन एवम् समावेशी भित्रको समावेशीता र लैङ्गिक सवालको सम्वोधन गर्ने गराउने पक्षमा आयोग क्रियाशील हुनुका साथै राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा संस्थागत सुशासनको सुचक्र स्थापित हुनुपर्ने कुरामा जोड दिदै आएको छ। निर्वाचनका कृयाकलापमा सरोकारवालासँगको साझेदारी र सहकार्य, निर्वाचन विवाद निरूपणको प्रभावकारिता, निर्वाचनमा विद्युतीय मतदानको प्रयोग, निर्वाचन आचारसंहिताको व्यावहारिकता र भरपर्दो निगरानी प्रणालीको संस्थागत विकास, राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रको सुदृढीकरण, नियमन र पारदर्शिता आयोगको उच्च प्राथमिकतामा रहेका विषयहरू हुन्।

अन्त्यमा, आठौ निर्वाचन दिवस, २०८० सम्पन्न गर्न प्रत्यक्ष र परोक्ष रूपमा हामीलाई प्रेरणा, हौसला र सहयोग प्रदान गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गर्दछु। आठौं निर्वाचन दिवसको उपलक्ष्यमा आयोगबाट प्रकाशित निर्वाचन स्मारिकामा आफ्ना महत्वपूर्ण विचार सहित लेख रचना उपलब्ध गराई दिनुहुने लेखकहरूलाई धन्यवाद दिन चाहन्छु। निर्वाचन आयोग र अन्तरगत कार्यालयमा रही निर्वाचन व्यवस्थापनका कार्यमा उत्कृष्ट कार्यसम्पादन गरी पुरस्कृत एवम् सम्मानीत हुने कर्मचारीहरूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु।

मितिः २०८० फागुन ७ गते
निर्वाचन दिवस
दिनेश कुमार थपलिया
प्रमुख निर्वाचन आयुक्त

प्रतिक्रिया राख्नुहोस्

Back to top button