तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित

चितवन । भरतपुर महानगरपालिकाका २८ नगर प्रहरी दीक्षित भएका छन् । भरतपुर महानगरपालिकामा ६ हप्ताको आधारभूत तालिममा सहभागी २८ जना नगर प्रहरीहरूलाई आज एक समारोहका बीच दीक्षित गरिएको महानगरले जनाएको छ ।

उनीहरूलाई भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, सशस्त्र प्रहरीका एसपी शशी पाण्डे, चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीलगायतले दीक्षित गर्नुभएको हो  ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरको गरिमालाई उच्च राख्दै अनुशासित, निष्पक्ष, इमान्दार र कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

भरतपुर महानगरपालिका हरेक क्षेत्रमा अब्बल रहेको र नगर प्रहरीले पनि देशकै उत्कृष्ट परिचित भएकाले नगर प्रहरीले शान्ति, सुरक्षा, फुटपाथ व्यवस्थापन गरी उदाहरणीय काम गर्न शुभकामना दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र बस्नेतले महानगरका हरेक गतिविधिमा नगर प्रहरीले सक्रियताका साथ भूमिका निर्वाह गरी सुन्दर, शान्त महानगर निर्माणमा सहयोग पुर्‍याउनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले महानगरका निर्णयलाई अक्षरशः पालना गराउनु नगर प्रहरीको दायित्व भएकाले बिना कुनै त्रास काम गर्न अनुरोध गर्नुभयो ।

विस २०५२ सालमा ५ जना नगर प्रहरीको दरबन्दी लागु भएको महानगरपालिकामा क्रमशः दरबन्दी थप भई हाल सङ्ख्या ७३ जना  पुगेको छ । गत पुस ६ गतेदेखि महानगरपालिकाको नगर प्रहरी प्रमुखको कमाण्ड कृष्णहरि ढकालले सम्हाल्नु भएको छ ।

नगर प्रहरीको सङ्ख्या थप भएसँगै महानगरका अवैध संरचना हटाउने, सार्वजनिक अतिक्रमणमा परेको जग्गा फिर्ता, महानगरको सौन्दर्यीकरण लगायतका कामहरू अगाडि बढाउने महानगरको लक्ष्य रहेको छ ।

नगर प्रहरीको जिम्मेवारी महानगरपालिकाको नीति, कानुन, मापदण्ड तथा निर्णय कार्यान्वयन गर्ने गराउने, सार्वजनिक सम्पत्तिको सुरक्षा, संरक्षण र अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्ने, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णयहरूको कार्यान्वयन गराउने, बजार तथा पार्किङ स्थलको रेखदेख र व्यवस्थापन गर्ने र विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने लगायतका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button