राष्ट्रिय सभाबाट स्वीकृत सङ्कल्प प्रस्ताव कार्यान्वयनका सम्बन्धमा समितिमा छलफल

काठमाडौँ । संसद्को दिगो विकास तथा सुशासन समितिले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि विषयमा राष्ट्रिय सभाबाट स्वीकृत सङ्कल्प प्रस्ताव कार्यान्वयनका सम्बन्धमा छलफल गरेको छ ।
सिंहदरबारस्थित समितिमा आज भएको छलफलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनका लागि तत्काल अन्तर मन्त्रालयसँग छलफल गरी अगाडि बढ्ने बताउनुभयो ।
मन्त्री आचार्यले अपाङ्गता परिचयपत्र डिजिटल प्रविधि मार्फत वितरण गर्नुपर्ने र यसबाट परिचयपत्रको दुरुपयोग रोक्न सकिने बताउनुभयो ।
छलफलमा सांसदहरुले दुर्घटनाबाट अपाङ्गता भएका व्यक्तिलाई राज्यले निःशुल्क उपचार र आजीवन जीवनयापनको सुविधा दिनुपर्ने, दुर्घटना न्युनिकरणका लागि राजमार्ग प्रहरीको व्यवस्था, प्रत्येक ५ किलोमिटरको फरकमा सिसिटिभी क्यामरा जडान गर्नुपर्ने, गति निर्धारण गरिनुपर्ने, ट्रमा सेन्टर हुनुपर्ने, स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने लगायतका विषयमा आफ्नो धारणा राख्नुभयो ।
यसैगरी सांसदहरुले मानसिक अपाङ्गता भएका व्यक्तिप्रति राज्य गम्भीर बन्नुपर्ने, महिला मन्त्रालयको तल्लो इकाइमा नेतृत्व हुनुपर्ने, अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सामग्री दिगो हुनुपर्ने, अपाङ्गता परिचयपत्र वितरण पहुँचका आधारमा भइरहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
छलफलमा सरोकारवाला पक्षले अपाङ्गता भएका व्यक्तिले अनुभव गर्ने खालका नीति बनाउनुपर्ने, न्युन गुणस्तरका ह्विल चियर लगायतका सामग्री वितरण भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्