तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशले मनायो स्थापना दिवस

पोखरा । गण्डकी प्रदेशले आफ्नो स्थापना दिवसको अवसरमा आज (शुक्रबार) प्रभातफेरी सहितको विभिन्न कार्यक्रम गरी मनाएको छ । 

प्रदेश सरकारको छैटौँ स्थापना दिवसको अवसरमा आज बिहान पोखराको शहीद पार्कबाट सुरु भएको प्रभातफेरी वाईचोक, रत्नचोक हँुदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर समारोहमा परिणत भएको हो । 

कार्यक्रममा वक्ताहरूले प्रदेश सरकारलाई बलियो र सङ्घीयताको मर्म र भावना अनुसार सञ्चालन गर्न केन्द्र सरकारले हाल विनियोजन गर्दै आएको ३ प्रतिशतको बजेटले प्रदेशको आर्थिक विकास उन्नति हुन नसक्ने गुनासो गर्नुभयो । 

उहाँहरूले प्रदेश सरकारलाई बलियो र आत्मनिर्भर बनाउन संघीय सरकारले समयमै बनाउनुपर्ने ऐन कानुनहरू समेत बनाउन ढिलाइ भएकोले प्रदेशले चाहेर पनि कतिपय योजनाहरू अघि बढाउन नसकेको बताउनुभयो । 

प्रदेशका संस्थापक मुख्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले आफ्नो सामर्थ्य र शासकीय स्वरूप परिवर्तन गर्न सक्नुपर्नेमा जोड दिँदै जनताले अपेक्षाकृत काम गर्न नसक्दा आलोचना खेप्नुपरेको बताउनुभयो । 

उहाँले प्रदेशको विकासको लागि जनताको विकास निर्माणमा मुखरित हुने गरी काम गर्नुपर्ने बताउनुभयो । नेपालमा सङ्घीयता बचाउने हो भने पहिला प्रदेश सरकार बलियो बनाउनुपर्ने उहाँको भनाई छ । प्रदेश सरकारमा प्रश्न उठ्नु भनेको सङ्घीयतामाथि नै चुनौती थपिएको भन्नुहुँदै उहाँले प्रदेश सरकारले आफ्नो भूमिका देखिने गरी काम गर्न सुझाव दिनुभयो । 

गण्डकीको पर्यटन क्षेत्रको विकासमा भिन्न ढंगले काम गर्नुपर्ने उल्लेख गर्नुहुँदै पूर्व मुख्यमन्त्री समेत रहनुभएका सांसद गुरुङले होमस्टे प्रवर्द्धनको अभियान आफ्नो पालामा सुरु गरेको दाबी गर्नुभयो । उहाँले सिटीभिटीले राम्रोसँग काम नगरी भ्रष्टाचार गरेकोले गण्डकी विश्वविद्यालय स्थापना गरिएको बताउनुभयो । 

निवर्तमान मुख्यमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता खगराज अधिकारीले केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन नखोजेको गुनासो गर्नुभयो । 

प्रदेश सरकारहरू स्वायत्त नहुँदा केही संस्था अपाङ्गता जस्तो भएको उहाँले बताउनुभयो । केन्द्र सरकारको समयमै नियमनको अभावमा सहकारीमा समस्या भएको उहाँको भनाई छ । 

“देशमा ३२ हजार सहकारी मध्ये १ सय सहकारीमा समस्या भएको जसले गर्दा समग्र सहकारीलाई प्रभावित पार्ने काम भएको छ ।”उहाँले भन्नुभयो । ३ प्रतिशत बजेटले प्रदेश सरकारको कसरी विकास हुन सक्छ भन्दै प्रश्न गर्नुहुँदै उहाँले २५ प्रतिशत बजेटको व्यवस्था गर्न उहाँले केन्द्र सरकारसँग माग गर्नुभयो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय सांसदले केन्द्रीय संसद्मा प्रदेशको अधिकार र कानून बनाउन ढिलाइ भएको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । प्रदेशलाई समृद्धि, आत्मनिर्भरताका लागि इमानदारीका साथ लाग्ने उल्लेख गर्नुहुँदै उहाँले संघीय सांसदले प्रदेश सरकारको वृद्धि विकास र टिकाउको लागि केन्द्रिय सरकारसमक्ष आवाज उठाउन आग्रह गर्नुभयो । 

प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले प्रदेश प्रविधिमैत्री बनाउने अभियानमा आफूहरू लागेको बताउनुभयो । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अझै पनि प्रदेश र संघ सरकारसँग स्थानीय तहको समन्वय र सहकार्य हुन नसकेको गुनासो गर्नुभयो । 

त्यस्तै सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदेश सचिव शम्भुराज रेग्मीलाई प्रदान गरिने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव (कानुन) लाई नगद एक लाखसहित उक्त पुरस्कार प्रदान गरिने भएको हो । 

त्यसैगरी गण्डकी प्रदेशले स्थापना दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार आज प्रदेशमा सार्वजनिक बिदा दिइएको प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले बताउनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button