तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय पुस्तक दिवसको उपलक्ष्यमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय पुस्तक दिवस तथा  श्रीपञ्चमीको अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी मेला–२०८० को आयोजना गरेको छ । पुस्तक प्रदर्शनीको आयोजना २०८० फागुन  १८ गतेसम्म रहने छ ।

यस पुस्तक प्रदर्शनीको उद्घाटन  प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नुभएको थियो। यसै क्रममा कुलपति राईले  पठन संस्कृतिलाई व्यापक तुल्याउने उद्देश्यले पुस्तक प्रदर्शनी मेलाको आयोजना गरिएको हो  भन्नु भएको थियो ।उहाँले  प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तक र पत्रिकालाई पाठक सामु पुर्‍याउन यस्ता प्रदर्शनीहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिनु भएको थियो ।यस क्रममा उहाँले अँध्यारोबाट उज्यालोमा हिँडाउन र  ज्ञान विज्ञानलाई  विश्वव्यापी तुल्याउनमा अन्तर्राष्ट्रिय पुस्तक दिवसको अहम भूमिका रहँदै आएको छ भन्नु भएको थियो ।

पुस्तक प्रदर्शनीमा प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित शब्दकोश, समालोचना, खोज अनुसन्धान, भाषा, साहित्य, दर्शन, सामाजिक, इतिहास, कला र संस्कृति लगायतका विधागत पुस्तकहरू राखिएका छन् । 

यसै क्रममा आम पाठकहरूको पठन संस्कृति र अभिरुचिलाई ध्यानमा राखेर प्रज्ञा नेपाली बृहत् शब्दकोश लगायत एक हजार थान भन्दा बढी  पुस्तक प्रदर्शनीमा राखिएका छन् ।   यस प्रज्ञा–प्रतिष्ठानको भानुभक्त कक्षमा प्रदर्शनीमा राखिएका पुस्तकहरू इच्छुक व्यक्ति वा क्रेताले रु २० देखि ४० प्रतिशतको  विशेष छुटमा खरिद गर्न सक्ने  छन् । प्रदर्शनीमा रू पाँच मूल्य रहेको काव्यर्चनादेखि  रू तीन हजार तीन सय पाँच रुपैयाँ मूल्य रहेको प्रज्ञा नेपाली बृहत् शब्दकोशसम्म राखिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button