सिजनमा १० हजार लिटर मह उत्पादन गर्ने रुपा गाउँपालिकाकाे लक्ष्य

पोखरा । कास्कीको रूपा गाउँपालिकाले मौरी प्रवद्र्धन गरी पहिलो गाउँलाई मौरी पकेट क्षेत्र बनाउने तयारी गरेको छ । आफ्नो गाँउमा युवाहरूलाई स्वरोजगार बनाउने अभियान अन्तर्गत मौरी प्रवद्र्धन कार्यक्रम ल्याएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनु भयो ।
एक सिजनमा न्यूनतम ८ देखि १० हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखिएकोले सोही अनुरुप मौरी पालन व्यवसायलाई प्रमोसन गर्न गाउँपालिकाले मौरी अनुदान कार्यक्रम अन्तर्गत मौरीको घारमा सहुलियत उपलब्ध गराउँदै आएको छ । गाउँपालिकाले यस चालु आर्थिक बर्ष मौरी व्यवसाय प्रमोसन तथा स्वरोजगार बनाउन २ करोड ५० लाखको बजेट विनियोजन गरेको छ ।
हरेक घरमा मौरी पालन व्यवसाय गर्न प्रोत्साहन गरेको रूपा गाउँपालिकाले यस बर्ष करिब २ हजार १ सय वटा मौरीका घाँर वितरणको तयारी गरेको छ । प्रति किसानलाई ९ हजार २ सयको मौरी सहितको घारलाई न्यूनतम ३ हजार ५ सयमा उपलब्ध गराउने गरी तयारी गरेको अध्यक्ष ओझाले जनाउनु भयो । उहाँले भन्नुभयो “हाम्रो गाउँको पहिचान बनाउन मौरी पकेट क्षेत्र बनाउने अभियानमा हामी छौँ, हामीले यस बर्ष करिब २ हजार भन्दा बढी घार वितरण गर्दै छौँ ।” वार्षिक २० देखि २५ हजार लिटर मह उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष ओझाले बताउनु भयो । आफ्नो गाँउमा करिब ३ हजार लिटर मह उत्पादन हुँदै आएको छ । रुपा गाँउमा हाल करिब ३० घरमा व्यवसायीक मौरी पालन गरेको बताइन्छ ।
मौरीको नेपाल र विदेशमा समेत अत्यधिक माग भएको सहज र सरल व्यवसाय भएकोले यस व्यवसायलाई प्रवर्द्धन गर्न गाउँपालिकाले विशेष जोड दिँदै बजेट विनियोजन गरेको अध्यक्ष ओझाले जनाउनु भयो । रुपा गाउँमा हाल ४ हजार भन्दा बढी मौरीको घारको माग भएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले बताउनु भयो । यस वर्षको उक्त अभियानबाट गाँउमा करिब १ सय ५० भन्दा बढी किसानको घरमा मौरी व्यवसाय सुरु हुने भएको उहाँले जनाउनु भयो ।
यसैबिच, रुपा गाउँपालिकाको आफ्नो स्थापना दिवसको अवसरमा यही फागुन २४ गतेदेखि २७ गतेसम्म खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता एवं विभिन्न सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई ८० हजार, तेस्रो हुनेलाई ४० हजार साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ५ हजार, अन्य विधामा वेस्ट सर्भर, बेस्ट ब्लकर, बेष्ट सेटर, बेस्ट लिब्रोः, बेस्ट स्पाइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २ हजारको साथमा ट्रफि र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
यसवर्ष रूपा रत्न सम्मान २०८० द्वारा रुपा गाउँपालिका भित्र कृषकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि पेसामा उत्कृष्ट रहेका कृषकहरूलाई नगद पुरस्कार ५ हजार सहित ताम्रपत्रले सम्मान गरिने भएको उपाध्यक्ष लालसुव्वा गुरुङले बताउनु भयो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने भएको छ ।







प्रतिक्रिया राख्नुहोस्