बसन्त पञ्चमी : मूर्तिको माग पुरा गर्दै स्वदेशी कालिगढ (फोटोफिचर)

बाँके । आज बसन्त पञ्चमी । विद्याकीदेवी सरस्वतीको पूजा आराधना गरि मनाइदैछ । बसन्तपन्चमी धेरैका लागि धार्मिक आस्थाको पर्व भए पनि बाँके र बर्दियाका मूर्तिकारहरूका लागि भने आम्दानीको गतिलो पर्व हुने गरेको छ । बसन्तपन्चमी नजिकिँदै गर्दा यहाँका मुर्तीकारहरुलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ हुने गरेको छ ।
नेपालमा केही वर्ष अघिसम्म भारतीय कालिगढहरुनै आएर मूर्ति बनाउने र बिक्री गरेर जाने गरेकोमा अहिले भने यहीका मूर्तिकारहरूले व्यवसायका रुपमा मूर्ति बनाउने पेशा अँगाल्न थालेका छन् ।
अरुबेला फुर्सदमै रहने नेपाली मुर्तिकारहरुलाई सरस्वती पुँजाले भने निक्कै व्यस्त बनाउने गरेको छ।
यो बर्ष तराईमा लामो समयदेखि शितलहर चलेको र घाम नलागेको कारण मूर्ति बनाउन निकै समस्या भएको मूर्तिकार बताउँछन्।

कतिपयले विद्यालयले दिएको अर्डर अनुसार मूर्ति बनाई रहेका छन् भने कतिपयले आफैले बनाएर किन्न आउनेलाई मूर्ति बेच्ने गरेको बाँके नेपालगन्जका मूर्तिकार छोटु केवट बताउनु भयो।
एक महिना अघिदेखि मूर्ति बनाउने कालिगढहरू दिनरात खटिरहेका छन् । बाँके र बर्दिया जिल्लाका निजी तथा सरकारी गरि करिब ५ सय बढी विद्यालयले सरस्वतीको मूर्तिको माग गरेको कालिगडहरूको भनाइ छ ।

पुजामा प्रयोग गरिने सरस्वतीको प्रतिमा माटोबाट बनाइने गरिन्छ । सरस्वती पुजाका लागि पाँच हजारदेखि तीस हजारसम्मको मूर्ति बनाएर बेच्ने गरेको मूर्तिकारहरू बताउँछन् । सरस्वतीको एउटा राम्रो मूर्ति तयार गर्न चारजना कालिगडलाई पाँच देखि दस दिन लाग्ने गरेको उनीहरू बताउँछन् ।

मूर्तिका लागि चाहिने कपडा तथा रङ भारतबाट आयात गर्ने गरिएको मूर्तिकारको भनाई छ । अघिल्लो वर्षहरूमा भन्दा यसबर्ष मूर्तिका लागि चाहिने सामानको मूल्य बढेको भएपनि मूर्तिको मूल्यमा खासै वृद्धि नगरिएको मूर्तिकार केवटको भनाई छ । मुख्यतया दसै, छठ, सरस्वती पूजा , विश्वकर्मा पूजा, कृष्ण अष्टमी जस्ता पूजाहरूमा माटोको मूर्तिहरू बनाएर बिक्री वितरण हुने गरेको उहाँले बताउनुभयो ।

लामो समयदेखि मूर्ति पेसामा लागेकाहरू मूर्ति बनाउन समय लाग्ने र मूर्ति तयार गर्नको लागि नेपालमा सामान नपाइने भएकोले पनि यो पेशा अति फरक र झन्झटिलो भएको बर्दियाका मूर्तिकार गोढिया बताउनुहुन्छ । माटोको मूर्ति भएकोले बनाउन मात्र नभई, पूजा गर्ने दिनसम्म जोगाएर राख्नसमेत कठिन हुने गरेको उनी रुरुको भनाई छ।
विशेष गरि सरस्वती पुजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा राखी विद्यार्थी एवं साधकहरूले पूजा गर्ने गर्दछन् ।









प्रतिक्रिया राख्नुहोस्