तपाईँ सुन्दै हुनुहुन्छः

सुशील कोइराला मेमोरियल महिला क्रिकेट : कोहलपुर मेयर–११ फाइनलमा

नेपालगन्ज । कोहलपुर मेयर–११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तर्गत चौथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर–११ विजयी भएका छन्। बागमतीले गण्डकीलाई तथा मेयर–११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गरे ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा गण्डकीलाई बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्‍यो। गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्‍यो।

बागमतीको लागि एलि यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए। गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १र१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको गण्डकीले पुरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट क्षतिमा ५६ रन बनायो। गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

बागमतीकी बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए। प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनीषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन्। बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पायो।

आज सम्पन्न दोस्रो खेलमा कोहलपुर मेयर–११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्‍यो। सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर–११ ले ४ विकेट गुमाएर १७.४ ओभरमा भेटायो।

कोहलपुर मेयर–११ को ब्याटिङमा साना प्रवीणले सर्वाधिक ३९ रन बनाइन् जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। प्रतिमा शाहले अविजित १८ रन बनाइन्। सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो।

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिइन् जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन्। रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाइन्।

कोहलपुर मेयर–११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिइन्। प्लेयर अफ द म्याच घोषित कमातीले ३.३ ओभरमा १४ रन खर्चिन्। आरती महतोले २ विकेट लिँदा हैमवती रोय र तृष्णा विश्वकर्माले १/१ विकेट लिए।

सबै तिन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर–११ कुल ६ अङ्क सहित अङ्कतालिकाको शीर्षमा छ जसले फाइनलमा स्थान पक्का गरेको छ। यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हार पछि ४ अङ्क सहित तेस्रो स्थानमा छ। समान नतिजा र अङ्क सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोस्रो स्थानमा छ। ३ खेलमा २ अङ्कसहित सुदूरपश्चिम चौथो तथा तिन खेलमा पराजित हुँदै अङ्कविहीन लुम्बिनी प्रदेश पाँचौँ स्थानमा छ।

प्रतियोगिता अन्तर्गत पाँचौँ दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा बिहान ९:३० बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दोस्रो खेल दिउँसो १:३० बजे बागमती प्रदेश र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर–११, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी छन्। सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अङ्कतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button