तपाईँ सुन्दै हुनुहुन्छः

बैङ्किङ कसुरमा नौ करोड बढी जरिवाना, एक जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैङ्किङ कसुर मुद्दामा रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना ठहर भएका एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैङ्किङ कसुरमा उक्त रकम जरिवाना भएका काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ का ६७ वर्षीय रामभक्त थापालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्युरोका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बैङ्किङ कसुर मुद्दामा तीन वर्ष कैद सजाय र रु नौ करोड सात लाख छ हजार ३७८ जरिवाना तोकिएका थापालाई कोटेश्वरबाट पक्राउ गरिएको जानकारी दिनुभयो । “थापाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारेर ऋण लिएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

प्रहरी नियन्त्रणमा रहेका थापाले ‘काभ्रे बोइलर सप्लायर्स’ फर्जी कम्पनीका कागजात बनाएर कर्जा लिएको खुलेको हो । उक्त मुद्दामा विसं २०७१ वैशाख २९ गते तत्कालीन पुनरावेदन अदालत पाटनले थापालाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना सुनाएको थियो । थापालाई प्रहरीले आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँ पेस गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button