राष्ट्रिय महिला यू-१९ क्रिकेट : बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी
बाँके । बाँकेको कोहलपुरमा जारी सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला क्रिकेट प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर(११ विजयी भएका छन्।

आजको पहिलो खेलमा बागमती प्रदेशले विजयी सुरुवात गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ८ रनले पराजित गर्यो। लगातार दोस्रो हार बेहोरेको लुम्बिनी पहिलो खेलमा कोहलपुर मेयर-११ सँग पराजित भएको थियो।

कोहलपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ११७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर १०८ रन मात्र बनायो। एन्जिला पाठकले अविजित ४२ रन बनाएता पनि लुम्बिनीको जितको लागि पर्याप्त भएन। पाठकले ५६ बलमा ४ चौका प्रहार गरिन्। कप्तान आश्मा पुलामी मगरले २० तथा सुष्मिता भुसालले १० रन योगदान दिइन।
बागमतीको बलिङमा बिपिशा शाहीले २ विकेट लिँदा क्रिश्मा गुरुङ, मनिषा उपाध्याय र लक्ष्मी रुम्बाले १र१ विकेट लिए। टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ४ विकेट क्षतिमा ११६ रन बनायो।
बागमतीको लागि कप्तान सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् जुन क्रममा उनले ३६ बलमा ३ चौका प्रहार गरे। ऐलि यादवले १४, बिपिशा शाहीले १२ तथा साबिका यादवले ११ रन बनाइन्। अतिरिक्तको रुपमा लुम्बिनीले २७ रन दियो।

लुम्बिनीको बलिङमा सुष्मिता भुसाल, आशमा पुलामी मगर र एन्जीला पाठकले १र१ विकेट हात पारिन्।
खेलको प्लेयर अफ द म्याच बागमती प्रदेशकी सोनी पाख्रिन घोषित भइन्।
आजको दोस्रो खेलमा कोहलपुर मेयर-११ ले गण्डकी प्रदेशलाई ३४ रनले पराजित गर्यो। लगातार दोस्रो जित दर्ता गरेको कोहलपुरले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो।
कोहलपुर मेयर-११ ले दिएको १०० रनको लक्ष्य पछ्याएको गण्डकीले पुरै २० ओभर ब्याटिङ गरेता पनि ८ विकेट गुमाएर ६५ रन मात्र बनायो। गण्डकीको ब्याटिङमा सलिना सेनले १९ तथा सिमाना केसीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा योगदान दिन सकेनन्।
कोहलपुर मेयर(११ को बलिङमा दायाँ हाते फास्ट बलर हैमवती रोयले सर्वाधिक ३ विकेट लिइन्। ४ ओभर बलिङ गर्दै रोयले २५ रन खर्चिन्। भवानी कमाती, प्रतिमा शाह, आरती महतो र रिया शर्माले १/१ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर-११ ले निर्धारित १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनायो।
मेयर(११ को लागि सीमा कुँवरले सर्वाधिक ३० रन योगदान दिइन् जुन क्रममा उनले ४४ बलमा ३ चौका प्रहार गरिन्। लिशा यादवले २२ तथा साना प्रभिनले १० रन बनाइन्।

गण्डकीको बलिङमा रचना चौधरी र निरुता जिटिले समान ३ विकेट हात पारिन्। निरुताले ३.४ ओभरमा १९ रन तथा रचनाले ४ ओभरमा ११ रन खर्चिन्। कुसुम गोदार र आकृति तिवारीले १/१ विकेट हात पारिन्।
खेलको प्लेयर अफ द म्याच कोहलपुर मेयर-११ कि हैमवती रोय घोषित भइन्।
प्रतियोगिता अन्तर्गत तेस्रो दिन सोमबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा बिहान ९:३० बजे बागमती र सुदूरपश्चिम तथा दोस्रो खेलमा दिउँसो १:३० बजे गण्डकी र लुम्बिनी प्रतिस्पर्धा गर्नेछन्।








प्रतिक्रिया राख्नुहोस्