तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली पत्रकारिताको इतिहासको खोज र अध्ययन आवश्यक छ’

काठमाडौँ । नेपाली पत्रकारिता क्षेत्रका विज्ञ एवं अग्रजहरूले पत्रकारिताको इतिहासबारे खोज र अध्ययनको आवश्यकता औँल्याउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिद्वारा प्रकाशित ‘अग्र अनुहार, कथा अग्रजको, गाथा महासङ्घको’ आज यहाँ विमोचन कार्यक्रममा प्रा. डा. रामकृष्ण रेग्मीले पुस्तकबारे समीक्षा गर्दै पत्रकारिताको इतिहासको खोज अनुसन्धानले यस क्षेत्रको वर्तमान चुनौतीको सामना र भविष्यको बाटो पहिल्याउन सहयोग पुग्ने बताउनुभयो ।

उक्त पुस्तक नेपाली पत्रकारिताको इतिहासको लागि उपयुक्त स्रोत सामग्री हुने उहाँले बताउनुभयो । “यस पुस्तकले नेपालमा पत्रकारितालाई सङ्गठनको रुपमा विकास गर्दा आइपरेका चुनौती र उहाँहरूले गर्नुभएको सामनाका बारेमा जानकारी दिन्छ”, उहाँले भन्नुभयो, “भविष्यको बाटो पहिल्याउन विगत हेर्न पर्छ भने जस्तै यसले पत्रकारिताको इतिहासबारे अध्ययन गर्न र सिङ्गो पत्रकारितालाई अघि बढाउन सहयोगी सावित हुनेछ । अध्ययनका लागि स्रोत सामग्रीको अभाव सधैँ खड्किन्छ । यस पुस्तकलाई गतिलो स्रोत सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारिताको इतिहास सँगसँगै नेपाल पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्न प्रयासरत रहेको बताउनुभयो । उहाँले उक्त पुस्तक पत्रकारिताको इतिहासका बारेमा अध्ययनका लागि अभिलेखीकरण भएको बताउँदै पत्रकारिताको इतिहास खोज्न र तथ्यमा आधारित भएर इतिहासलाई स्थापित गर्न महासङ्घ प्रयत्नशील भएको बताउनुभएको हो ।

“पुस्तकका सन्दर्भमा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को असहमति र असन्तुष्टि छ । त्यसलाई एक तार्किक निष्कर्ष, तथ्यपरक अध्ययन र विधिसम्मत अनुसन्धानका विधिहरू प्रयोग गरेर टुङ्गोमा पुर्‍याउने विषयमा हामी सबैको एकमत छ । अहिले पत्रकार महासङ्घले हामी जुन विधानबाट निर्वाचित भएर आएका छौँ र विधानले चिन्ने पूर्व अध्यक्षहरूको पुस्तक निकालेको हो”, उहाँले भन्नुभयो, “ पत्रकार महासङ्घको इतिहासको खोजी, सम्मान र इतिहासलाई स्थापित गर्ने प्रयत्न भइरहेको छ । सत्यनारायण बहादुर श्रेष्ठको सन्दर्भमा सङ्गठन स्थापना गरेको हो भन्ने सत्य हो । त्यसमा कुनै पनि विमति छैन । महासङ्घले उहाँको नाममा पुरस्कार स्थापना गर्ने, विशेष विभूषण दिने विषयमा सुझाव लिँदैछौं ।”

उक्त कार्यक्रममा महासङ्घका पूर्व सभापति हरिहर विरहीले विगतका पत्रकारिताको अभ्यास र इतिहासबारे उल्लेख गर्दै पछिल्लो समय खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याउनुभयो । “

पूर्व सभापति किशोर नेपालले पत्रकारिता क्षेत्रको विकासका लागि सबै पत्रकारले आफ्ना मुद्दामा एक हुनुपर्नेमा जोड दिँदै पत्रकारको सम्मानका लागि पत्रकारिता क्षेत्रलाई गुणस्तरीय बनाउनुपर्ने बताउनुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले पुस्तकमा महिला जनजाति लगायत सबैको अनुभव र जीवनी समेटिनुपर्ने सुझाव दिनुभयो । उहाँले पत्रकारितामा देखिएका चुनौतीको मिलेर सामना गर्नुपर्ने भन्दै समितिले आफ्नो अधिकारको सीमितता र बाधा अड्चनका बाबजुद पारिश्रमिक वृद्धिका लागि काम गरिरहेको समेत दाबी गर्नुभयो ।

पत्रकार, पत्रकारिता र राजनीतिसँगै नेपाल पत्रकार सङ्घदेखि महासङ्घसम्मका विषय समेटेर तयार पारिएको उक्त पुस्तकको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले असहमति जनाएको छ । फोनिजले महासङ्घका संस्थापक एवं पत्रकार सत्यनारायण बहादुर श्रेष्ठलाई पनि उक्त पुस्तकमा समेट्नुपर्ने माग गर्दै विमोचन कार्यक्रममा असहमति जनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button