हिउँमा रमाउँदै : रारा आएका आन्तरिक पर्यटक
मुगु । नेपालकै ठुलो र गहिरो ताल रारामा तालको सुन्दरतासँगै हिउँमा रमाउने पर्यटकहरू बढेका छन् । लामो समयपछि माघ दोस्रो सातातिर भएको हिमपातपछि मौसममा सुधार आए लगतै रारामा हिउँ खेल्ने र रमाउने आन्तरिक पर्यटकहरूको सङ्ख्या बढेको हो ।

हिउँद ऋतुमा सुनसान जस्तै बन्ने रारामा यस पटक भने रारामा चहलपहल भएको देखिन्छ । विगतका वर्षहरूमा हिउँद अत्यधिक चिसोको कारण पर्यटक आवागमन घट्ने गरेको थियो भने यसपटक अघिल्ला वर्षको तुलनामा निकै चहलपहल बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

हिमपात कम हुँदा पर्यटकलाई आउजाउमा धेरै गाह्रो नहुनु र यस वर्षको हिउँदमा कम वर्षा हुँदा जाडो खासै नभएकाले पर्यटकहरूलाई रारा घुम्न धेरै सहज भएको राराका पर्यटन व्यवसायी देवीकृष्ण रोकायाको भनाई छ ।

हिउँमा रमाउनका लागि मुगुकै विभिन्न स्थानबाट पनि युवाहरू पुगिरहेका छन् । सदरमुकाम गमगढी बजार, मुर्मा, तुम, झ्यारी, टोप्ला, पिना, सोरु, खत्याडमा रहेका दर्जनौँ बस्तीबाट युवायुवती रारा जाने गरेका छन् । छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउने गरेका छन् । हिउँ परेको दिन हिउँ खेल्न रारा आउने गरेका छन् । यस बर्ष जाडो कम भएर होला रारा घुम्ने र हिउँ खेल्नको लागी आन्तरिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनु भयो ।

छिमेकी जिल्ला जुम्लाबाट पनि आन्तरिक पर्यटक दैनिक ५०-६० जना आउने गरेका छन् । हिउँ नै परेको दिन हिउँ खेल्न रारामा धेरै आन्तरिक पर्यटक आएको अधिकृत घिमिरेले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्