तपाईँ सुन्दै हुनुहुन्छः

त्रिमूर्ति पुरस्कारबाट तीन स्रष्टा पुरस्कृत

काठमाडौँ । त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’, ‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ ।

सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्यसम्राट बालकृष्ण समको १२२औँ जयन्तीका अवसरमा निकेतनले नेपाली भाषा साहित्यमा समर्पित भई शास्त्रीय छन्द कविताको माध्यमबाट छन्द काव्य प्रसार, नाट्य क्षेत्रमा समर्पित भई मुलुकमा नाटकको महिमा र गरिमालाई उत्कृष्टतामा पुर्‍याएको र काव्य साधनामा निरन्तर समर्पित रही नेपाली कविता विकासमा विशिष्ट योगदान पुर्‍याउने तीन स्रष्टालाई ताम्रपत्र, जनही रु एक लाख नगद राशिसहित पुरस्कृत गरेको हो ।

छ दशकदेखि नेपाली भाषा साहित्यको योगदानमा समर्पित रहँदै शास्त्रीय छन्द कविताको रचना एवम् छन्द काव्यको प्रचार अभियानमा समेत संलग्न भई विशिष्ट योगदान पुर्‍याउनुभएका प्रा मुकुन्द शरण उपाध्यायलाई लेखनाथ काव्य पुरस्कार २०७९ प्रदान गरिएको छ ।

मालती मङ्गले नाटकमा मङ्गलेको सफल भूमिकाका अतिरिक्त दर्जनौँ नाटकमा उत्कृष्ट अभिनय गरेर जनप्रियता हासिल गर्नुभएका हरिबहादुर थापालाई बालकृष्ण सम पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

त्यसैगरी नेपाली भाषा साहित्यको विकासमा छ दशकअघिदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्द्धनमा विशिष्ट योगदान गर्नुका साथै महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादन समेत गरी प्रकाशनमा ल्याउनुभएको जयप्रसाद पाण्डेलाई देवकोटा काव्य पुरस्कार, २०७९ प्रदान गरिएको छ ।

निकेतनका संस्थापक तथा सदस्यसचिव नरेन्द्रराज प्रसाईँले तीन मूर्ति बनाउन ठूलो बाधा व्यवधान भएपनि हाल कोष स्थापना भई संस्था सुदृढ अवस्थामा रहेको बताउनुभयो । त्रिमूर्तिका पुरस्कार राशि सुरुमा रु १०/१० हजार रहे पनि अहिले रु एक लाख बनाइएको उहाँले जनाउनुभयो ।

निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँले विभिन्न व्यक्तित्वको योगदानले संस्था सुदृढीकरणमा महत्वपूर्ण भूमिका पुगेको उल्लेख गर्नुभयो ।

यस निकेतनले हरेक वर्ष त्रिमूर्ति दिवसका अवसरमा लेखनाथ पौड्याल पुरस्कार, बालकृष्ण सम पुरस्कार र देवकोटा काव्य पुरस्कार विभिन्न स्रष्टाहरूमा समर्पण गर्दै आएको छ । नेपाली भाषा साहित्यका विभूति त्रय कविशिरोमणि लेखनाथ पौडयाल, नाट्य सम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button