बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न बृहत् साइकल यात्रा गरिँदै

नेपालगञ्ज । बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न बृहत् साइकल यात्रा गरिँदै छ ।
साइकल यात्रामार्फत पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन विगत सात वर्षदेखि हुँदै आएको ‘टुर डे ठाकुरद्वारा’ यसपटक भोलि आयोजना गरिँदै छ ।
भारतीय र चिनियाँ साइक्लिष्टहरु समेत सहभागी हुँदै आएको ‘टुर डे ठाकुरद्वारा’मा यस पटक अझ उत्साहवद्र्धक उपस्थिति हुने आयोजक नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ ।

नेपालगञ्जलाई साइकल सिटीका रुपमा विकास गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न ‘टुर डे ठाकुरद्वारा’ले महत्वपूर्ण भूमिका खेलेको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले बताउनुभयो ।
इभेन्ट डाइरेक्टर सतिस निरौलाका अनुसार दुई सय साइक्लिष्टहरु ‘टुर डे ठाकुरद्वारा’मा सहभागी हुनेछन् । स्वदेशी र विदेशी साइकलयात्री नेपालगञ्जबाट बाँके र बर्दियाका विभिन्न भाग हुँदै ठाकुरद्वारा पुगेर शनिबार फर्किनेछन् । भोलि बिहान प्रसिद्ध बागेश्वरी मन्दिर परिसरबाट साइकल यात्रा सुरु हुनेछ ।

दुई दिने उत्सव आयोजनाका लागि २७ लाख खर्च हुने अनुमान रहेको इभेन्ट डाइरेक्टर निरौलाले बताउनुभयो ।
टुर डे ठाकुरद्वारालाई भव्यरुपमा सफल बनाउन आजदेखि नै साइकल उत्सव सुरु भएको नेपालगञ्ज साइक्लिङ क्लबले जनाएको छ । आज १० वर्षमुनिका बालबालिकाका लागि ‘साइकल रेस”को आयोजना गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्