तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका दुई समितिद्वारा निर्माणाधीन संघीय संसद् भवनबारे छलफल र अनुगमन

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले संयुक्त रुपमा निर्माणाधीन संघीय संसद् भवनबारे छलफल र अनुगमन गरेको छ । 

दुवै समितिले आज संयुक्त रुपमा बैठक बसी सिंहदरबारमा निर्माण भइरहेको संघीय संसद् भवनको प्रगतिका सम्बन्धमा छलफल गरेको हो ।

छलफलमा दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले अन्तिम पटक थपिएको समयमा काम सक्ने अवस्थाबारे आयोजना पक्षलाई प्रश्न गर्नुभएको थियो । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले दुई वटा समितिले संयुक्त रुपमा निर्माणाधीन भवनबारे छलफल र अनुगमन गर्दा यसले दूरगामी महत्व राख्ने भन्दै बुझाइमा एकरुपता कायम गरी सहकार्य गर्न सहज हुने बताउनुभयो ।

निर्माणाधीन संघीय संसद् भवनको हालसम्म भौतिक प्रगति ७७ प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत भएको आयोजनाका निर्देशक मचाकाजी महर्जनले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालय र निर्माण कम्पनी टुण्डी सेक ज्वाइन्ट भेञ्चरबीच २०७६ साल असोज १६ गते सङ्घीय संसद् भवन तीन वर्षभित्र अर्थात् २०७९ असोज १५ गतेसम्म निर्माण गरिसक्ने गरी सम्झौता भएको थियो । 

पटक पटक म्याद थप्दा पनि निर्धारित समयमा भवन निर्माण पूरा हुन सकेको छैन । भवन निर्माणका अन्तिम पटक थपिएको ६ महिनाको समय आगामी चैतमा सकिँदै छ ।

सिंहदरबारभित्र एक सय ५१ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको संघीय संसद् भवन निर्माण परियोजना अन्तर्गत ७ सय जना अट्ने  प्रतिनिधिसभा हल, २ सय ९० जना अट्ने राष्ट्रियसभा हल, अतिविशिष्ट कक्ष र संघीय संसद् सचिवालय, दलको कार्यालय र अन्य कार्यालयलगायत १२ भवन रहेका छन् । 

भवनभित्र तीन सय ५० सिट क्षमताको संयुक्त लबी हुने छ भने सानाठूला गरी १० वटा संसदीय दलका कार्यालय हुने छन् । 

यसका चार अतिरिक्त विशिष्ट कक्ष, ४ वटा प्रवेशद्वार, दुई संसद् सचिवालय भवन, संसद् लाइब्रेरी, क्यान्टिन र ६ सय ७४ गाडी पार्किङ क्षमता हुने छ । भवन निर्माणका लागि अनुमानित खर्च छ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button