रास्वपा सचेतक डाँगीद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक निशा डाँगीले सवारी दुर्घटना न्यूनीकरणका उपायसहित प्रतिनिधिसभामा आज जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ ।
बढ्दो सवारी दुर्घटनाबाट प्रत्येक वर्ष दुई हजारभन्दा बढीले ज्यान गुमाइरहेको र यसबाट राज्यलाई ठूलो क्षति पुर्याइरहेको उक्त प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा सवारी दुर्घटनाको अवस्था, दुर्घटनाले पुर्याउने तत्कालीन र दीर्घकालीन असर र दुर्घटनाका कारणसमेत उल्लेख गर्दै चालक अनुमति पत्र किनबेच गर्ने बिचौलिया प्रवृत्तिको अन्त्य, ट्राफिक सचेतना प्रवद्र्धन, सडक प्रयोगकर्तामैत्री पूर्वाधार र व्यवस्थित तथा सुरक्षित सार्वजनिक यातायातको माग गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा राष्ट्रिय विकास योजनामा दिगो विकासका लक्ष्य समावेश गरेको नेपालले ‘ग्लोबल रोड ट्राफिक सुरक्षा’का उद्देश्यसँग तालमेल मिलाएर काम गर्नुपर्ने मार्गनिर्देशनको मागसमेत गरिएको छ ।
यस्तै, सडक र विद्यामान पूर्वाधारका क्षमता वृद्धि र स्तरोन्नतिका लागि सरकारका योजना एवं कार्यक्रमबारे सरकार, विज्ञ र सरोकारवालासमेतको उपस्थितिमा छलफल माग गरिएको छ ।
प्रस्तावमा सचेतक डाँगीले सडक दुर्घटनाको न्यूनीकरण गर्न र पैदल यात्रुको सुरक्षा सुनिश्चित गर्न नयाँ कानुन आवश्यक भएको भन्दै त्यससम्बन्धी छलफल गर्न माग गर्नुभएको छ ।
“दुर्घटनामा परेर ज्यान गुमाउने वा घाइते ६६ लाख ६६ हजार नौ सय ३७ परिवार रहेको र त्यसमध्ये हरेक ३९ मध्ये एक परिवारले दुर्घटनाका घाइते स्याहारिरहेको छन्”, प्रस्तावमा भनिएको छ, “दीर्घकालीन असर हेर्ने हो भने राज्यले बेहोर्नुपर्ने मानवीय, आर्थिक र सामाजिक क्षति पनि उत्तिकै ज्यादा हुने गर्छ । सडक दुर्घटनाका कारण बर्सेनि करिब रु दुई खर्बको क्षति हुने गरेको छ ।”
गत आवमा मात्रै सडक दुर्घटनाबाट रु एक खर्ब ७३ अर्ब बराबरको आर्थिक क्षति नेपालले बेहोर्नुपरेको र सडक दुर्घटनाकै कारण कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को तीन प्रतिशत बराबरको आर्थिक नोक्सानी बर्सेनि सरकारले बेहोरिरहेको प्रस्तावमा उल्लेख छ ।
प्रस्तावको समर्थकमा रास्वपाका उपसभापति एवं सांसद डोलप्रसाद अर्याल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठलगायतका सांसद हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्