रास्वपाको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा : सभापति लामिछाने

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताउनुभएको छ ।
रफत सञ्चार क्लबको १४औँ वार्षिकोत्सवका अवसरमा आज भक्तपुरमा आयोजित कार्यक्रममा उहाँले जुनसुकै परिस्थिति आए पनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर आफ्नो पार्टी सचेत रहेको बताउनुभयो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले रास्वपा सत्य, निष्ठाको तागतमा लोकतन्त्रको पक्षमा रहेको र कुनैपनि मूल्यमा लोकतन्त्र नमासियोस्, नखोसियोस् भन्ने मान्यतामा रास्वपाले विश्वास राखेको बताउनुभयो ।
सरकारले ल्याउने कानुनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भूमिका निर्वाह गर्ने बताउनुभयो ।
आफ्ना बारेमा उठाइएका विभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफूप्रतिको आरोप र लाञ्छनाप्रति आक्रोशित नभएको उहाँको भनाई थियो । राजनीति र पत्रकारिताको सेवा एकै पटक सम्भव नहुने बताउँदै पत्रकारितालाई राजनीतिबाट पर राख्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले पत्रकारिता गर्दा जनताको पक्षमा वकालत गरेकाले आम जनताले न्यानो माया प्रदान गरेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले रास्वपा मिडिया पृष्ठभूमिबाट सिर्जना भएको पार्टी भएकाले जनताले यस पार्टीलाई आफ्नो सही आवाज उठाउन माया गरेको बताउनुभयो ।
कार्यक्रममा सभापति लामिछानेले स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्र दैनिकका प्रधान सम्पादक शिवकुमार भट्टराई ,रफत सञ्चार क्लब क्रियाशील पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका दिलीप थापामगर र नागरिक दैनिकका पत्रकार कृष्ण किसीलाई र कल्पना स्मृति पुरस्कारबाट कर्णाली प्रदेश, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक एवं वरिष्ठ रेडियोलजिस्ट डा रविन खड्कालाई दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रोशनी श्रेष्ठ, स्वर्गीय तुलबहादुर थापा एवं रूपा थापा स्मृति पत्रकारिता पुरस्कार तथा कल्पना स्मृति प्रतिष्ठानका संरक्षक प्रेमबहादुर थापा र रफत सञ्चार क्लबका अध्यक्ष सुशीलबन्धु थापा लगायतले रफत सञ्चार क्लब जहिले पनि सत्य र न्यायको पक्षमा रहने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्