सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु
सुरेन्द्रमणि त्रिपाठी/विद्याप्रसाद उपाध्याय
काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु भएको छ ।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको तेस्रो तथा राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।
प्रतिनिधि सभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदहरूलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउनुभयो ।
प्रतिनिधि सभाको बैठकमा सभामुख घिमिरेले राष्ट्रका साझा मुद्दाहरूमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको एकतालाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
सभामुख घिमिरेले विगतका दुई अधिवेशनमा संसद् नियमावलीको निर्माण तथा विषयगत समितिहरूले पूर्णता पाएसँगै संसदीय गतिविधिहरू क्रियाशील र जीवन्त हुँदै गएको बताउनुभयो ।
सभामुख घिमिरेले ऐन निर्माणमा सङ्ख्यात्मक नतिजा प्राप्त हुन नसके पनि एक वर्षको बीचमा पर्याप्त गृहकार्य भएको बताउनुभयो ।
सभामुख घिमिरेले संसद्मा अवलम्बन गरिने विधि, प्रक्रिया र अभ्यासहरूलाई थप परिष्कृत, उन्नत र जनमुखी बनाउन सामूहिक प्रतिबद्धता जरुरी रहेको उल्लेख गर्नुभयो ।
बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नुभयो ।
बैठकमा बैठकमा सङ्घीय संसद्का सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको पनि सभामुख घिमिरेले जानकारी दिनुभयो ।
बैठकमा सङ्घीय संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुभयो ।
बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्नुभयो ।
यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश संसद्मा पेश गर्नु भयो ।
प्रतिनिधि सभाको अर्को बैठक यही माघ २४ गते बुधवार बिहान ११ बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्