तपाईँ सुन्दै हुनुहुन्छः

अछामको मेल्लेखका लेकाली भू–भाग किवीको ‘हब’ बन्दै

अछाम । मेल्लेखमा कुनैबेला मुरिका मुरी खेती उत्पादन गर्ने बाँझिएका जग्गाहरूमा पुनः खेती हुन थालेको छ । गाउँपालिकाको लेकाली भू–भागका कृषकलाई किवीका बिरुवा वितरण गर्न थालेसँगै बाँझिएका जग्गाहरूमा प्रयोगमा आउन थालेका छन् ।

चालु आर्थिक वर्ष वर्ष २०८०/८१ को नीति कार्यक्रम, बजेटमा किवीलाई प्राथमिकता दिएको गाउँपालिका कार्यान्वयनको चरणको अघि बढेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा किवी खेती विस्तारको लागि ६ लाख बजेट विनियोजित गरेको गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउदले जानकारी दिनुभयो । 

 ‘गाउँपालिकाको समुन्द्री सतहबाट १७ सय उचाइमा रहेका पालिकाका सात मध्ये केही वडाका लेकाली भू–भागमा किवी खेतीको सुरुवात भएको छ ।‘केही वडामा किवीको खेती अर्का वर्ष सुरुवात हुने बताइएको छ ।

गाउँपालिकाले अघिल्लो सरकारले नमूनाका रुपमा गाउँपालिका वडा नं.७ नन्देगडास्थित ग्रामीण उद्योग ग्राममा किवी खेतीको सुरुवात गरेको थियो । तीन वर्षअघि लगाएको बिरुवाले यो वर्ष फल दिएको थालेको गाउँपालिका अध्यक्ष साउदको जानकारी दिनुभयो । 

गत आर्थिक वर्षमा गाउँपालिकाले वडा नं.४ कुष्कोटमा ७२० वटा किवीका बिरुवा वितरण गरेको थियो । यो वर्ष वडा नं.३ ठाटी र पुनः कुष्कोटमा कृषकलाई अनुदानमा १ हजार ४ सय किवीका बिरुवा वितरण गरिएको छ भने आगामी आर्थिक वर्षका वडा नं १ र २ ऋषिदको लेकाली भू–भाग किवीका बिरुवा वितरण गरिनेछ ।

एक परिवारलाई ५० वटा किवीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकालाई किवीको ‘हब’ बनाउने उद्देश्य रहेको अध्यक्ष साउदको भनाई छ ।   

वडा नं.६ शोडषाका कृषक वीरबहादुर वोहराले मेल्लेमा किवी खेतीको राम्रो सम्भावना रहेको बताउनुभयो । सात वर्ष अघिबाट व्यावसायिक रुपमा किवीको खेती गर्दै  आएको वोहराको किवी खेतीले गत वर्षबाट फल दिन सुरु गरेको छ । उहाँले दुई वर्षमा आफूले किवीमा पाँच लाख आम्दानी गरेको जानकारी दिनुभयो ।

मेल्लेखमा उत्पादन भएको किवी धनगढी  काठमाण्डौं देखि भारतसम्म निर्यात भएको जानकारी दिनुभयो । उहाँले व्यावसायिक रुपमा किवी खेतीको सुरुवात भएमा युवाहरूले स्वदेशमा नै रोजगारी पाउने धारणा व्यक्त गर्नुभयो ।

बजारमा किवीको माग अत्यधिक भएकाले आफूले पनि व्यावसायिक खेती गर्न थालिएको कृषक वोहराको भनाई रहेको छ । उहाँले व्यावसायिक रुपमा बढी उत्पादन भएमा किवीको फललाई लामो समयसम्म राख्नको लागि कोल्ड स्टोर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

बाँझो रहेको जमिनलाई राम्रो आम्दानी देखेपछि किवीको खेती सुरुवात गरेको स्थानीय साविदेवि बुढाले जानकारी दिनुभयो । उहाँले गाउँपालिकाले गाउँमै आएर निःशुल्क किवीका बिरुवा वितरण पछि पचास बिरुवा लेकाली भू–भागको पाखो जमिनको सदुपयोग गरेको उहाँको भनाई रहेको छ ।

‘किवी फल लेकाली भू–भागका कृषकहरूको लागि आर्थिक उन्नति र पोषण सुधार गर्ने राम्रो अवसर देखिन्छ । किवीले खेतीलाई व्यावसायिक रुपमा अघि बढाउन सकेमा  गाउँमै रोजगारका अवसर सृजना हुने गाउँपालिका अध्यक्ष साउदको भनाई रहेको छ । 

किवी फल सबै फलफूल भन्दा पोषिलो र औषधीको प्रयोगको लागि लाभदायक भएको मेल्लेख गाउँपालिका कृषि विकास शाखाका प्राविधिक लोकेन्द्र साउदले जानकारी दिनुभयो । उहाँले मुटुरोग, प्रेसर, पेट सम्बन्धी रोग तथा दम रोगको लागी उपयोगी फल भएको जानकारी दिनुभयो । उहाँले किवी खेती गर्ने कृषकहरूलाई गाउँपालिकाले प्राविधिक सिप सिकाउँदै आएको पनि जानकारी दिनुभयो । उहाँले किवीको बजार मूल्य ५ सय देखि १ हजार रुपैयाँ रहेकाले आम्दानी स्रोत बन्ने पनि कृषि प्राविधिक साउदको भनाई रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button