तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको पर्यटन प्रवर्द्धन गर्न मिनी म्याराथन 

चितवन । चितवनको  समग्र पर्यटन प्रबद्र्धन गर्न मिनी म्याराथन प्रतियोगिता हुने  भएको छ । आगामी फागुन १९ गते नारायणी नदी किनारबाट रत्ननगरको हरिहर मन्दिरसम्म म्याराथन दौड आयोजना गर्न लागेको हो ।

आयोजक संस्था रोटरी क्लब अफ रत्ननगरले  आज पत्रकार सम्मेलनको आयोजना गरी यसबारे  जानकारी दिएको छ । कार्यक्रम संयोजक विपिन पोखरेलले प्रतियोगितामा दुई किसिमबाट धावकहरूले प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गर्ने बताउनु भयो । उहाँका अनुसार १५.५ किलोमिटरको खुल्ला प्रतियोगिता र ५ किलोमिटर दूरीको महिला लक्षित प्रतियोगिता हुनेछन् ।

१५.५ किमीको खुल्ला प्रतियोगिता नारायणी नदी किनारबाट शुरु भई हरिहर मन्दिर रत्ननगरमा समापन हुनेछ भने पाँच किमी दुरीको महिला लक्षित प्रतियोगिता भरतपुर महानगरपालिकाको टिकौली जंंगल सीमाबाट प्रारम्भ भई सोही ठाउँमा समापन हुनेछ ।

१५.५ किमीको प्रतियोगितामा राष्ट्रिय धावक (खेलाडी) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक समेतको सहभागिता रहने उहाँले जानकारी दिनुभयो  । पोखरेलले भन्नुभयो “प्रतियोगितामा खेलाडी मात्रै होइन आम सर्वसाधारण पनि सहभागी हुन पाउनु हुनेछ ।” साथै सिमान्तकृत चेपाङ्ग समुदायका धावकहरूलाई विशेष प्रोत्साहन गरिने उहाँको भनाई छ ।

प्रतियोगितामा चार सय हाराहारी सहभागी हुने अपेक्षा गरिएको छ । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठका अनुसार राष्ट्रिय प्रतिभाहरूको पहिचान एवं प्रवद्र्धन गर्ने उद्देश्यबाट समेत यो मिनी म्याराथन आयोजना गर्न लागिएको हो । उहाँले भन्नुभयो “मूलतः भरतपुर महानगरपालिकाको आयोजनामा घुमौँ भरतपुर भन्ने नाराका साथ फागुन १८ बाट शुरु हुने भरतपुर भ्रमण वर्षलाई समेत प्रवर्द्धन गर्ने उद्देश्य यस प्रतियोगिताको रहेको छ ।”

रोटरी डिस्ट्रिक्ट ३२९२ जोन ३७ का एसिस्टेण्ट गभर्नर सुरेन्द्र रेग्मीका अनुसार १५.५ किलोमिटरतर्फको प्रतियोगितामा प्रथम हुनेलाई एक लाख रुपैयाँ नगद, प्रमाणपत्र र चाँदीको मेडल प्रदान गरिने छ । यसैगरी दोस्रो हुनेलाई ५० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई २५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई १० हजार, पाँचौँ हुनेलाई ५ हजार र छैटौँदेखि १० औँ सम्मलाई ३ हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिने छ । दूरी पूरा गर्ने सबै चेपाङलाई रु.२ हजार नगद पुरस्कारको व्यवस्था रहेको छ ।

यसैगरी पाँच किलोमिटर महिला लक्षित प्रतियोगितातर्फ प्रथम हुनेलाई २० हजार प्रमाणपत्र र चाँदीको मेडल, दोस्रो हुनेलाई १० हजार प्रमाणपत्र र चाँदीको मेडल, तेस्रो हुनेलाई ५ हजार प्रमाणपत्र र चाँदीको मेडल, चौथो हुनेलाई ३ हजार, पाँचौँ हुनेलाई २ हजार ५ सय, छैटौँदेखि १० औँ सम्मलाई एक हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ । दूरी पूरा गर्ने महिला चेपाङलाई रु.१ हजार नगद प्रदान गरिने उहाँले जानकारी दिनुभयो । क्लबले सन् २०१९÷२० मा पहिलो पटक मिनी म्याराथन आयोजना गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button