धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी : सभामुख घिमिरे
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको बताउनुभएको छ । साथै उहाँले भोलिदेखि हुने संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ ।

भोलिदेखि हुने सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन तयारीबारे जानकारी लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले हिँउदे अधिवेशनलाई प्रभावकारी तुल्याउन नयाँ समयसारिणी बनाएर काम गर्ने अठोट गरिएको बताउनुभयो । सभामुख घिमिरेले भन्नुभयो, “त्यो अठोटलाई कार्यान्वयन गर्न अहिले १५ दिनको समयसारिणी बनाएर कार्यान्वयन गर्दै अघि बढ्ने प्रयत्न हुनेछ । त्यसपछि पनि सोहीअनुसार नै जाऔं भन्ने तयारीका साथ अघि बढ्ने सोच छ । बजेट प्रस्तुति अघिको छलफलका लागि कानुनी प्रबन्धसहित अध्यादेश आएको छ । त्यसअनुसार कार्यतालिका मिलाइने छ । ” उहाँले आफूहरुले दिएका सुझावलाई सरकारले सकारात्मक ढङ्गले लिएको बताउनुभयो ।

हिउँदे अधिवेशन सञ्चालनका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सभामुखबाट विधेयकबारे कानुन, न्याय तथा संसदीय मामिलासम्बन्धी मन्त्रीसँग परामर्श भइसकेको छ । नियमित रुपमा गर्नुपर्ने सबै काम पूरा भएका छन् ।”

नेपालको संविधानले स्थायी, प्रबुद्ध समूहको प्रतिनिधित्व रहने माथिल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभा रहने व्यवस्था गरेको छ । यस पटकदेखि अधिवेशनलाई कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त तुल्याउन पाक्षिक रुपमा क्यालेण्डर बनाएर जानुपर्छ भन्नेमा दुवै सभामा तयारी भएको छ ।
तयारीका सन्दर्भमा हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन गरिनेछ । यो हिँउदे अधिवेशनका लागि हाल सङ्घीय संसद्मा २४ विधेयक छन भने १६ वटा विषयगत समिति छन् । हाल १५ विधेयकमाथि समितिमा दफावार छलफल भइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्