तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि एपिएफलाई

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सञ्चालन भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल नेपालको एपिएफ क्लबले हात पारेको छ । शनिबार दिउँसो गण्डकी प्रदेशको टिमसँग भएको अन्तिम खेलमा ३–१ को सेटले एपिएफ विजयी भएको हो ।

योसँगै गण्डकी प्रदेश द्वितीय भएको छ । तृतीयका लागि शनिबार बिहान त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबिच खेल भएको थियो । त्रिभुवन आर्मी क्लबको टिमलाई हराउँदै नेपाल पुलिस क्लबले तेस्रो स्थान सुरक्षित गरेको छ । तेस्रो स्थानका लागि भएको प्रतियोगितामा पुलिसले आर्मीलाई ३–१ सेटले हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिताका विजेता, उपविजेता र तेस्रो हुने टिमलाई क्रमशः रु चार लाख, दुई लाख र एक लाख नगद सहित ट्रफी, मेडलका साथमा प्रमाणपत्र प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार बापत चौथो हुने टिमलाई रु पचास हजार नगद पुरस्कार प्रदान गरिएको छ ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजना र जिल्ला भलिबल संघ कञ्चनपुरको संयोजनमा माघ १४ देखि सञ्चालन भएको तेस्रो मुख्यमन्त्री राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सात वटै प्रदेश र तीन विभागीय टिम गरी जम्मा १० वटा टिमको सहभागिता रहेको जिल्ला भलिबल संघ कञ्चनपुरका अध्यक्ष श्यामसिंह मौनीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button