क्यान्सर बिरामीको उपचार सहयोगार्थ विभिन्न कार्यक्रमको आयोजना हुँदै

विराटनगर । क्यान्सर रोग उपचारको पहुँचको दुरीलाई घटाउँदै जाने सङ्कल्पसहित क्यान्सर बिरामीको उपचार सहयोगार्थ विराटनगरमा विभिन्न कार्यक्रमको आयोजना हुने भएको छ ।
रेवन्त–रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युट विराटनगरले विश्व क्यान्सर दिवसको अवसरमा यही माघ –२१ गते आइतबारका दिन आशा क्लोज द केयर ग्याप अर्थात् क्यान्सर उपचारको पहुँचको दुरीलाई बन्द गराँै, भन्ने नाराका साथ जनचेतना मुलुक विभिन्न कार्यक्रम गर्न लागेको हो ।
विराट क्यान्सर इन्स्टिच्युट आशा क्लोज द केयर ग्याप टिमले विराटनगरमा आज पत्रकार सम्मेलन गरी जनमानसमा क्यान्सर सम्बन्धि जनचेतना फैलाउन सो दिन एकैथलोमा १५ वटाभन्दा बढी कार्यक्रम आयोजना गर्न लागेको जानकारी गराएको छ ।
जस अन्तर्गत स्कुलका विद्यार्थीहरूको र्याली, साइकल र्याली, स्कुटर र्याली, कार र्याली, म्याराथन, मेडिटेसन, मास कार्डियो, क्यान्सर जित्नेहरूको सफलताको कथा क्यान्सर रोग विशेषज्ञद्वारा जनचेतना सम्बन्धि प्रस्तुति लगायतका कार्यक्रम आयोजना गर्न लागिएको विराट मेडिकल कलेज टिचिङ अस्पतालका सिइयो डा.निकिता कार्कीले बताउनुभयो ।
कार्यक्रमबाट सङ्कलित रकम सो अस्पतालमा उपचार गराइरहनुभएका क्यान्सर बिरामीको उपचारार्थमा सहयोग गरिने जनाइएको छ ।
क्यान्सर सम्बन्धि जनचेतनाको विकास गर्दै रोगको जोखिमलाई बेलैमा पहिचान र प्रमाणित गरि रोकथाम र उपचारको पहुँचलाई प्रभावकारी बनाउन सके ३० देखि ५० प्रतिशत यो रोगको रोकथाम गर्न सकिने डा.कार्कीले बताउनुभयो ।
विश्व क्यान्सर दिवसको अवसर पारेर सोही दिन रेवन्त–रुकमणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटको पनि उद्घाटन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । विराट टिचिङ अस्पताल परिसरमा निमार्ण गरिएको सो इन्स्टिच्युटको नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्