सरकारको नेतृत्व परिवर्तन हुने कुनै सम्भावना छैन : अध्यक्ष नेपाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिले संविधानलाई समाप्त पार्नका लागि गरेको कोसिस कुनै पनि हालतमा सफल नहुने बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालले आज जनकपुरधाममा समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा इतिहास भइसकेकाे राजसंस्थालाई केही शक्तिले व्यक्ताउने कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो ।
अध्यक्ष नेपालले केही शक्ति राजतन्त्रलाई फेरि ब्युँताउने प्रयास गरिरहेको बताउनुहुँदै मृत्यु भएको राजसंस्था कुनै पनि हालतमा नबिउँतिने भएकाले निरर्थक कोसिस नगर्न आग्रह गर्नुभयो ।

उहाँले प्रदेशले पाउनुपर्ने अधिकार प्रदेशले नै पाउनुपर्ने धारणा राख्नुहुँदै संविधानमा भएको कमीकमजोरीलाई सच्याउँदै नमिलेका कुराहरू मिलाउन आवश्यक भएको बताउनुभयो ।
अध्यक्ष नेपालले सरकारको नेतृत्व परिवर्तन हुने कुनै सम्भावना नभएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई अगाडि बढाउनका राम्रो प्रयास गरिरहेको भन्नुहुँदै यसका लागि सरकारले केही राम्रो कदम चालिरहेकाले अहिले सरकारलाई साथ दिनु नै उचित रहेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीलाई सबैले साथ दिनुपर्ने भन्नुहुँदै भोली के हुन्छ ? त्यसको कल्पना अहिले गर्नु उपयुक्त नभएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एसका नेताहरू रामचन्द्र झा, धर्मनाथ साह, शत्रुधन महतोसहितका नेता हरुको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्