तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा हिमपात सुरु, कृषक हर्षित

मुगु  ।  कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा  गएरातीदेखि हिमपात सुरु भएको छ ।

केही दिन यता अत्यधिक चिसो बढेपछि  बुधवार रातिदेखि  मुगुमा वर्षासँगै हिमपात सुरु भएको हो ।  नेपालकै ठुलो र गहिरो ताल रारामा अहिले बिहान ७ बजेसम्म करिब १ फिट हिउँ परिसकेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुका निमित्त वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताउनु भयो । विशेष गरि रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ ।  मुर्माटप, चुचेमारा, घुच्ची, ताल्च, चंखेली,  लखूँ, मुन्दु, लिउडी, बाम घट्टललेक ,तलिलेक,सोरूकोट,  चाक्पाँडे र करानका उच्च हिमाली भेगमा  हिमपात भइरहेको छ ।

माघ महिनाको  तेस्रो हप्तामा भएपनि हिमपात सुरु भए पछि  खेतीपाती गर्ने कृषक लगायत स्थानीय बासीन्दाहरूलाई राहत  मिलेको छ । लामो समय वर्षा र हिमपात नहुँदा वातावरण बिग्रिएर रोगब्याधी फैलिनुका साथै खोलानाला र पानीका मुहानसमेत सुकेको थिए । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपातले यहाँका  कृषक खुसी भएका छन् ।   खेतका गह्रामा सुकेका हिउँदे बाली हिउँ परेसँगै पलाउने र बालीनाली सप्रने आशमा कृषकहरू रहेका छन् ।  

जताततै  सुख्खाभएसँगै  मानिसहरूमा भाइरल रुघाखोकीका बिरामीहरूको सङ्ख्या बढ्दै गएको थियो ।   यस हिमपातले मुगु लगायत  साबिक कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र मध्य  र सुदूर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button