पूर्वी मन्त्री नेम्बाङलाई उपचारका लागि काठमाडौँ लगियो

ताप्लेजुङ । पूर्वी मन्त्री तथा प्रतिनिधिसभाका सांसद बसन्तकुमार नेम्बाङ ताप्लेजुङमा अकस्मात् बिरामी भएपछि थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
नेकपा (एमाले) ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन सदरमुकाम फुङलिङ आउनुभएका उहाँ अकस्मात् बिरामी हुनुभएको हो ।
नेम्बाङको बोली लरबरिएको तर अन्य गतिविधि सामान्य नै रहेको डा.महेश्वर गोसाईले जानकारी दिनुभयो ।
नसा फुटेको र खुम्चिएको हुनसक्ने आशङ्कामा जिल्ला अस्पताल ताप्लेजुङले नेम्बाङलाई सिटी स्क्यान सहितको आवश्यकता देखाएपछि थप उपचारका लागि रेफर गरेको बताइएको छ ।
उहाँको थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लगिने एमाले ताप्लेजुङका सहसचिव दिपेन पोमुले जानकारी दिनुभयो ।
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष तथा पूर्व सांसद घनश्याम खतिवडाका अनुसार बिहान फिदिमबाट हिँड्नुभएका नेता नेम्बाङको खाना खाने क्रममा स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि सांसद नेम्बाङलाई नजिकैको तमोर अस्पताल लगिएको थियो ।
पाँचथरबाट निर्वाचित सांसद नेम्बाङ एमाले ताप्लेजुङका इन्चार्ज हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्