नेपालगन्जको समग्र विकासका लागि नागरिक समाजको अग्रसरता

बाँके । पश्चिम नेपालको ऐतिहासिक शहर नेपालगन्जको विकासका लागि बाँकेका नागरिक समाजले अग्रसरता देखाएका छन् । नेपालगन्ज सहरको समग्र विकासका लागि सबै जना एकजुट हुनुपर्नेमा उहाँहरूको जोड छ ।
यहाँका नागरिक अगुवाहरूले नेपालगन्जलाई सिधैँ अन्तर्राष्ट्रिय स्तरसम्म जोडेर त्यहाँबाट पर्यटक भित्र्याउन कैलास मानसरोवर यात्रा, नेपालगन्ज जनकपुर, भारतको अयोध्यासम्म दैनिक बस सेवा सञ्चालन लगायतको पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीको नेतृत्वमा भएको आज नागरिक समाजका अगुवाहरूको बैठकले नेपालगन्जको समग्र विकासका लागि आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
बैठकले नेपालगन्ज नगरमा छाडा पशु चौपायाको नियन्त्रण, सरसफाई, ट्राफिक व्यवस्थापन, अस्पतालको व्यवस्थापन, वातावरणको संरक्षणलगायतका विषयलाई प्रभावकारी रुपमा उठाउने निर्णय गरेको छ ।
बैठकमा सहभागी प्रतिनिधिसभा सदस्य लक्ष्मी तिवारीले पश्चिम नेपालको पहिचानको रुपमा रहेको नेपालगन्ज सहरको समग्र विकासका लागि सबै राजनीतिक दलहरूले साझा मुद्दाको रुपमा उठान गरि सम्बन्धित निकायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले यहाँको विकासका लागि नीति कानून निमार्ण गर्ने ठाउँ र संसद् बैठकमा समेत दबाब दिने भन्दै बाँकेबाट निर्वाचित सबै संघ र प्रदेशका सांसदहरु एकजुट भई आवाज उठाउनुपर्ने बताउनुभयो । उहाँले नेपालगन्जका मुद्दाको पहिचान गरी समाधानका लागि पहल गर्ने बताउनुभयो।
बैठकले नेपालगन्जका एक एक वटा सवाललाई उठान गरि सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय भएको नागरिक अभियन्ता रवीन्द्रकुमार ज्ञवालीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्