तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र नेपाल टिभीलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्न सरकारले तयारी गरिरहेको छ : प्रधानमन्त्री

नेपाल टेलिभिजनको ३९ औँ वार्षिकोत्सव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्था बनाउने सम्बन्धमा संसद्मा विचाराधिन रहेको विधेयकमा समयानुकूल परिमार्जनसहित पारित गर्ने गरी तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज टेलिभिजन परिसरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सकारात्मक प्रभाव राख्ने र सही विश्लेषणसहित सार्वजनिक सेवा प्रसारण संस्था बनाउने योजनाको सङ्कल्प तयार गर्न नेपाल टेलिभिजन र रेडियो नेपाललाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले सरकारले सरोकारवाला पक्षको सहभागितामा आमसञ्चार सम्बन्धी विधेयकको मस्यौदा गर्ने काम गरिरहेको भन्दै सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभई नियमन र व्यवस्थापनका लागि भएको समेत स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने भन्दै अबको डिजिटल युगमा नेपाल टेलिभिजनले पनि आफ्ना उत्पादन र प्रसारणलाई त्यसतर्फ स्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले टेलिभिजनको अबको आवश्यकता र आम दर्शकको रुचि अनुसारका विषयवस्तुमा आफूलाई केन्द्रित गरी संस्थाको विकासका लागि नयाँ र दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण र कानुनी तथा व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको समेत बताउनुभयो ।  

त्यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संघीय संरचना अनुसार प्रदेश र स्थानीय तहलाई समेत बलियो बनाउने गरी आमसञ्चार क्षेत्रको नीति तथा कानुन बनाउने काम सरकारले गरिरहेको बताउनुभयो ।  सञ्चार मन्त्री शर्माले आमसञ्चार क्षेत्रको पुनर्संरचना गर्न मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयक ल्याउने तयारी गरिरहेको पनि बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण बनाएर थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारका रुपमा विकास गर्न लागिएको बताउनुभयो । 

मन्त्री शर्माले राज्यको आधिकारिक सूचना नागरिकमा पुर्‍याउनुका साथै र समाजको फेरिँदै गएको रुचिको सम्बोधन गर्न नेपाल टेलिभिजनबाट सबैको भावनाको सम्मान गर्न सकिन्छ भन्ने स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजको खुल्ला वातावरणमा विभिन्न माध्यमहरूबाट फैलिन सक्ने मिस इनर्फमेशन, डिसइनर्फमेसनका नकारात्मक असरहरूबाट आमदर्शकलाई मुक्त राख्ने र नो इनर्फमेशन, लेस एण्ड लिटिल इन्र्फमेसनका समस्याबाट माथि उठी जनमानसलाई सुसूचित गर्ने पत्रकारिता प्रवद्र्धनमा नेपाल टेलिभिजन जिम्मेवार बन्नु पर्ने बताउनुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष समिरजंग शाहले नेपाल टेलिभिजनले बदलिँदो परिस्थितिमा आफ्नो प्रसारणलाई सबै सामु पु¥याउन डिजिटलाईजेशनका माध्यमबाट अगाडी बढिरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button