तपाईँ सुन्दै हुनुहुन्छः

बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्न माग

भेरीगङ्गा (सुर्खेत)। अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवि गर्दै आएका विभिन्न सङ्घसस्थाले कर्णाली प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा उनीहरूले सबैका लागि बृहत् यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन् । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि बृहत् यौनिकता शिक्षा आवश्यक भएको जनाउँदै माध्यमिक तहमा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई ऐच्छिक बनाइएको भए पनि किशोरकिशोरी यौन र यौनिकताबारे अनुसन्धानमा आधारित सिकाइबाट बञ्चित रहेको उल्लेख गरिएको छ । विभिन्न प्रकारका अपाङ्गताका लागि सबै सिकाइ सामग्री पहुँचयोग्य ढाँचामा विकास गरिनुपर्ने सुझाव दिइएको छ ।

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९ ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि समावेशी सूचना, शिक्षा र सञ्चार सामग्री अपाङ्गतामैत्री मापदण्डहरू सिफारिस गरेको जनाउँदै समावेशी सूचना, शिक्षा, सञ्चारलाई अपनाएर चेतना र ज्ञान बढाउनतर्फ कार्यक्रम बनाउनसमेत सुझाव दिइएको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारको दायराभित्र जानकारी र हेरचाह प्रदान गर्न टेलिहेल्थ सेवाको प्रयोग सुरु तथा विस्तार गर्नुपर्ने जनाउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पूरा गर्न प्रतिवादन गर्ने सुझावमा उल्लेख गरिएको छ । त्यसैगरी सम्मानजनक र मर्यादित हेरचाहका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने, यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वहेरचाहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप पहुँचयोग्य बनाउन हालका कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ । स्थानीयस्तरका हरेक निकाय र संस्थामा अपाङ्गता भएका व्यक्तिलाई सदस्य राखिनुपर्ने भन्दै प्रत्येक मुद्दामा अपाङ्गताको सवाललाई समेटिनुपर्नेलगायतका सुझाव प्रदेश सरकारलाई दिइएको छ ।

यसैबीच अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको जनाउँदै यतातर्फ सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुले मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताएका हुन् ।

समूहगत छलफलमा सहभागी नेत्रहीन महिला अधिकारकर्मी सोमना खड्काले अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि समाजमा विभेद गर्ने गरिएको जनाउँदै त्यसमाथि पनि अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताउनुभयो । उहाँले कर्णालीमा महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्दै अपाङ्गता भएका महिलालाई झनै समस्या यो प्रथाले बनाएको बताउनुभयो ।

उहाँले गर्भवती परीक्षण गर्न तीन दिनको बाटो हिँडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको ,अपाङ्गता भएका गर्भवती कसरी जाँच गर्न जान सक्छन् भन्दै प्रश्न गर्नुभयो । अपाङ्गता भएका गर्भवती कति हुन्छन् र कति छन् भन्ने कुनै निकायसँग तथ्याङ्क नरहेको उहाँले बताउनुभयो ।

नेत्रहीन युवासङ्घ नेपालका सचिव अर्जुन साउदले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा अझै पनि अधिकार प्रत्याभूत हुन नसकेको बेला मुगुको छायाँनाथ रारा नगरपालिकाले केही सुधारका काम गरेकामा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाले नेपालमै पहिलोपटक अपाङ्गता नीति बनाएको छ । नगरप्रमुख विष्णुकुमार भामले आफूहरूले पहिलोपटक अपाङ्गतासम्बन्धी नीति ल्याएको र यसलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

पालिकामा साङ्केतिक भाषाको समेत सुरुआत गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले पालिकाका ३१ विद्यालय र २९ स्वास्थ्य संस्थाको संरचनालाई अपाङ्गतामैत्री बनाइएको र पालिकाकामा रहेको सात सय अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको बताउनुभयो ।

यस्तै प्रदेश सरकारले स्वास्थ्यको सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनेगरी नीति निर्माण गरिएको र यो नीतिले अपाङ्गता भएका व्यक्तिको पनि स्वास्थ्य सेवामा पहुँच पुग्ने दाबी गरेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले ७०सामुदायिक स्वास्थ्य एकाइ बनिरहेको र ४२ एम्बुलेन्समार्फत सेवा दिइरहेको जानकारी दिनुभयो । समूहगत छलफलमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रबिन खड्कालगायतको सहभागिता थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५३ हजार ५२ अपाङ्गता भएका व्यक्ति रहेका तथ्याङ्क छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button