मकवानपुर गोल्डकपमा बागमतीको विजयी सुरुवात
मकवानपुर । मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा आजबाट हेटौँडामा सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

हेटौँडा–६ स्थित गौरीटार बहुउद्देश्यीय रङ्गशालामा सुरु भएको गोल्डकपमा बागमती युवा क्लब सर्लाहीले विजयी यात्रा सुरु गरेको छ ।
उद्घाटन खेलमा बागमतीले पाहुना टोली पारो एफसी क्लब भुटानलाई ३–१ गोलअन्तरले पराजित गर्यो । बागमतीको जितमा राज भुसालले २ तथा सृजन गौतमले एक गोल गरेका थिए । बागमतीका तर्फबाट भुसाल र गौतमले खेलको पहिलो हाफमा एक÷एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको १६औँ मिनेटमा गौतमले थप एक गोल गर्दै बागमतीको जित सुनिश्चित गरे । खेलको अन्तिम चरणमा भुटानका तर्फबाट सृजुब दोर्जीले सान्त्वना गोल गरेका थिए ।

प्रतियोगितामा भुटानले केही राम्रा अवसर पाएको भए पनि गोल गर्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ ।
खेलको म्यान अफ द म्याच बागमतीका राज भुसाल घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
आगामी माघ २७ गतेसम्म सञ्चालन हुने छैटौँ संस्करणको मकवानपुर गोल्डकपमा १२ टोलीहरूको सहभागिता रहेको छ ।
प्रतियोगितामा भोली न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पाबिचको खेल दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।
मकवानपुरका स्थानीय तहहरूको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात पार्ने साथै विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्