चर्च ब्वाइज आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश
पोखरा । शहीद स्मारक ए डिभिजन लिग फुटबलको च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब नेपाल पुलिस क्लबलाई पराजित गर्दै २३ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च व्वाईजले पुलिस माथि १–० गोल अन्तरले पराजित गर्दै दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबसँग भिड्ने भएको हो ।
चर्च ब्वाइजको जितमा समिर तामाङले गरेको एक गोल नै निर्णायक बन्न पुग्यो । खेलको ७३ औँ मिनेटमा उत्कृष्ट गोल गर्नुभएको हो ।

आजको खेलमा म्यान अफ दी म्याच सहित दश हजार नगद समेत चर्च ब्वाइजका समिर तामाङले हात पार्नुभयो ।
भोलि(बुधबार) पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लब र थ्रिस्टार क्लबबिच खेल हुने सहारा क्लबका अध्यक्ष केशवराज बरालले बताउनुभयो । यही माघ २० गते फाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।
२३ ओं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्ने महासचिव रामपी प्रसाद अधिकारीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्