अछामको मेल्लेखमा ‘एक वडा, एक उत्पादन’ कार्यक्रम लागु

अछाम । अछामको मेल्लेख गाउँपालिकाले ‘एक वडा, एक उत्पादन’को कार्यक्रम शुरु गरेको छ ।
वडाभित्र छरिएर रहेका उत्पादनलाई एकीकृत गर्नका लागि घरेलु तथा साना उद्योग कार्यालय अछामको प्राविधिक सहयोगमा वडामै ‘एक उत्पादन एक कार्यक्रम’ को लागि तालिमको सुरु भएको हो ।
गाउँपालिकाका ८ वडा मध्ये ६ वटा वडा एक उत्पादन एक वडा कार्यक्रमको सुरु भएको छ । वडा नं.१ ऋषिदमा आलु चिप्स, वडा नं.३ ठाटीमा दालमोठ उत्पादन, वडा नं.८ हात्तिकोटमा मसला उत्पादन तथा प्रशोधन उद्योगको सुरुवात भएको गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउदले जानकारी दिनुभयो ।

यसअघि ‘एक वडा एक उत्पादन कार्यक्रम’ अन्तर्गत वडा नं. १ र २ ऋषिदमा पाईने अल्लोलाई प्रशोधन गरेर वडा नं.५ विन्देवासिनी र ७ नन्देगडामा अल्लोको कपडा उत्पादनको लागि गाउँपालिकामा उद्योग ग्राम काम सुरु भइसेको छ ।
अब केही दिनमा वडा नं.४ कुष्कोटमा अचार र वडा नं.६ शोडषमा सिस्नु प्रशोधन उद्योगको सुरु हुने उहाँले भन्नुभयो ।
यस्तै, हात्तिकोट, कुष्ककोट, नन्देगडामा पाइने भीमलको रेशाबाट पनि कपडा उत्पादन गर्ने गरी काम अघि बढाउने तयारी रहेको अध्यक्ष साउदले जानकारी दिनुभयो ।
आलु उत्पादक किसानलाई नै आलु चिप्स उत्पादन तालिमले व्यवसायी बन्नको लागि सहयोग पुगेको वडा नं.१ का कृषक कल्पना धामीले बताउनुभयो । नगदे बाली मात्रै लगाउँदै आएका कृषकले अब तरकारीजन्य बस्तुको उत्पादनमा जोड दिने उहाँले बताउनुभयो । ऋषिदहमा प्रशस्त मात्रामा उत्पादन हुने आलुलाई चिप्स बनाएर बजारीकरण गर्न सकेमा आत्मनिर्भर बन्न सहज उहाँको भनाई छ ।
उहाँले कृषकलाई थप व्यावसायिक बनाउन गाउँपालिकाले सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उत्पादित आलु सिँधै बेच्नुभन्दा चिप्स लगायतका विभिन्न परिकार बनाएर बेचेमा बढी फाइदा हुने उहाँले बताउनुभयो । आलुको चिप्स बनाउने तरिका सरल र कम खर्चिलो भएकाले घरेलु स्तरमा उत्पादन गरी रोजगारी र आयआर्जन गर्न सहज हुने कृषक धामीले बताउनुभयो ।
दालमोठ तालिममा सहभागी मेल्लेख गाउँपालिका वडा नं.३ ठाटीका मोहन बुढाले उद्यमी बन्नको लागि गाउँपालिकाले सुरु गरेको ‘एक उत्पादन एक वडा कार्यक्रम’ले आत्मनिर्भरतातर्फ अघि बढ्न जागरूक बनाएको बताउनुभयो ।

उहाँले स्थानीय उत्पादनलाई बढावा दिई जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रमले गाउँमै रोजगारीको बाटोमा लाग्न मद्दत पुगेको बताउनुभयो । गाउँ घरमै दक्ष प्राविधिकबाट तालिम पाएपछि व्यवसायी बन्न सहज भएको उहाँको भनाई छ ।
गाउँघरमै घरेलु स्तरमा उत्पादन हुने बस्तुको बजारीकरण प्रशस्त सम्भावना रहेको छ । कृषकले बढी मात्रामा उत्पादन गरेमा गाउँपालिकाले सङ्कलन सेन्टरको स्थापना गरेर बजारीकरणको लागि आवश्यक व्यवस्था गर्ने र जिल्ला बाहिरबाट आयातित बस्तुलाई पूर्णरुपमा विस्थापित गर्दै निर्यात गर्ने गाउँपालिकाको उद्देश्य रहेको अध्यक्ष साउदले बताउनुभयो ।
गाउँपालिकाले ८ वटै वटामा ८ लाख रुपैयाँमा मेसिन खरिद गरेर यस अघि नै हस्तान्तरण समेत गरिसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्