सङ्कटालाई हराउँदै त्रिभुवन आर्मी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा
कास्की । त्रिभुवन आर्मी क्लब सङ्कटा क्लबलाई ३–० ले हराउँदै आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । डिफेन्डिङ च्याम्पियन सङ्कटा पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखरा रङ्गशालामा भएको खेलमा आर्मीलाई जिताउन दिनेश हेमजनले दुई तथा जिलेस्पीजंग कार्कीले एक गोलको योगदान दिए । खेलको ४५ औ मिनेटमा जिलेस्पीजंग कार्कीले गोल गर्दै आर्मीका लागि खाता खाले ।
आर्मीका कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसमा जिलेस्पीजंग कार्कीले हेड मार्फत गोल गर्दै आर्मीलाई अग्रता दिलाए । खेलको ४८ औँ मिनेटमा दिनेश हेन्जनले पेनाल्टीमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।
त्यसै गरी ७६ औ मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई ३–० को अग्रता दिलाए । हेन्जनले जिलेस्पीजंग कार्कीको पासमा गोल गरेका हुन् ।
आर्मीले माघ १६ गते नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड बीचको विजेतासँग माघ १८ गते खेल्नेछ । सङ्कटा बाइ पाएर सीधै क्वार्टर फाइनल प्रवेश गरेको थियो भने विभागीय टोली नेपाल आर्मीले राइजिङ स्टारलाई पराजित गर्दै अन्तिम ८ मा पुगेका थिए । सोमबार जाउलाखेल र मनाङ मर्स्याङ्दी क्लब बिच हुनेछ ।
१२ टिमको सहभागिता रहेको प्रतियोगिता माघ २० गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।







प्रतिक्रिया राख्नुहोस्