तपाईँ सुन्दै हुनुहुन्छः

सिक्टा सिँचाइ आयोजना प्रगति : ५० प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा

नेपालगञ्ज । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरबको सिक्टा सिँचाइ आयोजनाबाट हालसम्म जिल्लाको करिब ५० प्रतिशत भूभागमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७ सय ६६ हेक्टर कृषियोग्य जमिनमा व्यवस्थित सिँचाइको लागि पानी पुर्‍याई कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ आयोजना निर्माणको काम भइरहेको छ । नेपाल सरकारको आफ्नै लगानीमा आर्थिक बर्ष २०६२/६३ देखि निर्माण थालिएको आयोजना आर्थिक बर्ष २०८९/९० मा सम्पन्न गर्ने लक्ष्य छ ।

राप्तीसोनारी गाउँपालिकाको अगैयास्थित राप्ती नदीमा मुख्य बाँध निर्माण गरी आयोजनाको काम अघि बढाइए यता हालसम्म करिब साँढे २० अर्ब रुपैयाँ खर्च भएको छ । मूल बाँध र पश्चिमी नहर निर्माणको काम सम्पन्न भइसकेको छ । बीचमा रोकिएको निर्माणाधीन अवस्थामा रहेको पूर्वी नहरको काम पनि सुरु गर्न लागिएको आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख देवराज निरौलाले पूर्वी नहर साढे ३७ किलोमिटर बनिसकेको बताउनुभयो । ‘५३ किलोमिटर लामो पूर्वी नहर अन्तर्गत साढे ३७ किलोमिटर निर्माण सम्पन्न भइसकेको छ, साढे ७ किलोमिटरमा रेखाङ्कनको काम भएको छ, बाँकी ८ किलोमिटरमा सर्भे र डिजाइनको काम भइरहेको छ’ निरौलाले भन्नुभयो ।

पूर्वी नहरबाट ९ हजार हेक्टरमा सिँचाइ गर्ने लक्ष्य छ । त्यसमध्ये अहिले ४२ सय हेक्टरमा सिँचाइ पुगेको छ । ४५ किलोमिटर लामो पश्चिमी मूल नहरको निर्माण कार्य भने सम्पन्न भइसकेको छ । अहिले जेठी नालासम्म पानी छोडिएको छ ।

केही ठाउँमा घुलनशील माटो भएका कारण नहर भत्किन सक्ने जोखिम भने अहिले नरहेको आयोजनाको भनाई छ । यसपटक त्यही नहरबाट गहुँमा पानी चलाइएको निरौलाले जानकारी दिनुभयो ।

नहर बनाउने बेलामा दिनुपर्ने मुआब्जा रकमको अभाव भने झेलिरहेको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । ‘यो अभावलाई कसरी सम्बोधन गर्ने भनेर हामीले विभाग स्तरीय छलफल गरेर अर्थ मन्त्रालयसँग रकम माग गरिसकेका छौँ, रकम आएपछि हामी तत्काल त्यसलाई अघि बढाउँछौँ’ सिक्टा सिँचाइ आयोजनाका प्रमुख निरौलाले भन्नुभयो ‘पर्याप्त बजेटको व्यवस्था, नीति नियम र कानुनको सहजीकरण, जनशक्ति व्यवस्थापन भए हामी निर्धारित समयमै हामी काम सक्छौँ, नत्र फेरि अप्ठेरो हुन्छ ।

अझै ३२ अर्ब लागत अनुमान गरिएको आयोजना निर्माणको काम सम्पन्न भए पश्चात् बाँकेमा १७ हजार घरधुरीका ४ लाख जनसङ्ख्या लाभान्वित हुने अपेक्षा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button