तपाईँ सुन्दै हुनुहुन्छः

भीमफेदीमा सामाजिक सुरक्षा योजनाको शुभारम्भ 

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरूको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । 

देशकै पहिलो गाउँपालिकाको रुपमा भीमफेदीले सामाजिक सुरक्षा योजनाको शुभारम्भ गरेको हो ।

सामाजिक सुरक्षा योजनाको शनिबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गर्नुभयो ।  

कार्यक्रममा उहाँले पालिकाले गरेको काम सराहनीय भएको बताउनुभयो । उहाँले कार्यक्रमले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई राहत पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो । 

योजनाको पहिलो चरणमा भीमफेदी गाउँपालिकामा पञ्जीकृत ९८ जना सहभागी रहेका छन् । सामाजिक सुरक्षा ऐन २०७४ ले अनौपचारिक क्षेत्रको मजदुरको न्यूनतम बेतन १० हजार ८ सय २० तोकेको छ । त्यसमा पञ्जीकृत भएका मजदुरले ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ भने स्थानीय सरकारले ९.३७ प्रतिशत जम्मा गर्नेछ ।

सरकार र श्रमिकको तर्फबाट मासिक २ हजार २ सय ४ रुपैयाँको मालिक रुपमा गाउँपालिकाद्वारा कोषमा जम्मा गरिनेछ । यो कोषमा आबद्ध भएका मजदुरले वार्षिक १ लाख बराबरको उपचार खर्च, ७ लाखको दुर्घटना बिमा, सुत्केरी महिला श्रमिकले ९८ दिन बराबरको पारिश्रमिक र शिशु स्याहारको लागि नगद २५ हजार पाउनेछन् भने दुर्घटना भई अशक्त भएको अवस्थामा नियमित पेन्सन पाउनेछन् ।

सामाजिक सुरक्षा कोषसँग सम्झौता गर्ने स्याङ्जाको फेदिगाँउ गाउँपालिका पहिलो रहेको थियो तर कार्यान्वयनमा भीमफेदी गाउँपालिकाले इतिहास रचेको छ । गाउँपालिकाले यो योजनालाई सफल बनाउनलाई चालू आर्थिक वर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

अनौपचारिक क्षेत्रका श्रमिकको कारण विकासको हरेक क्षेत्रको काम नियमित हुने गरेको भन्दै अध्यक्ष लामाले उनीहरूको सामाजिक सुरक्षा स्थानीय सरकारको पहिलो कर्तव्य भएको कारण आफूहरूले योजनाको सुरुवात गरेको दाबी गर्नुभयो ।

सामाजिक सुरक्षा कोषमा आबद्ध भएपछि खुसी ब्यक्त गर्दै मेसिन अपरेटको रुपमा कार्यरत भीमफेदी(२ का काशीराम घलानले अबदेखि आफूहरू ढुक्क भएर काम गर्ने वातावरण बनेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button